रक्षामन्त्रीसँग भियतनामका प्रतिरक्षा अधिकारीको भेट, सैन्य अभ्यासलाई विस्तार गरिने


काठमाडौं–उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भियतनामका भियतनामका प्रतिनिधिमण्डलको भेट भएको छ।

भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति भो थ्रोङ भियतसहितको प्रतिनिधिमण्डलले बुधबार रक्षामन्त्री पोखरेलसँग भेट गरेको रक्षा मन्त्रालयले जनाएको छ।

भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र भियतनामबीच घनिष्ठ दौत्य सम्बन्ध रहेको तथा विगतमा भियतनाम र नेपालबीच बहुपक्षीय मञ्चहरूमा एक आपसमा सहयोगको आदान–प्रदान भएको स्मरण गरे।

उनले भियतनामले विगतमा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि गरेको सङ्घर्षका लागि धन्यवाद व्यक्त गर्दै भियतनामले छोटो समयको अवधिमा गरेको उल्लेखनीय आर्थिक प्रगति नेपाल लगायतका अतिकम विकसित मुलुकका लागि ज्यादै प्रेरणादायी रहेको धारणा राखे।

उनले नेपालको भियतनामसँगको लामो कूटनीतिक सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप फलदायी बनाउन आगामी दिनमा दुई मुलुकबीच आवासीय दूतावास स्थापना गर्नेतर्फ पहलकदमी लिन आवश्यक भएको धारणा व्यक्त गरे।

साथै दुई मुलुकका सेनाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आगामी दिनमा संयुक्त सैन्य अभ्यास लगायतका क्रियाकलापलाई विस्तार गर्दै जान पनि आवश्यक भएको विचार व्यक्त गरे।

सो अवसरमा भियतनामका प्रतिनिधिमण्डलका नेता भियतले नेपालमा राजनीतिक सङ्क्रमण समाप्त भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकामा भियतनाम सरकारका तर्फबाट खुशी व्यक्त गरे। उनले दुई मुलुकबीच सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्न आवासीय राजदूतावास स्थापना गर्ने विषयलाई भियतनामले सकारात्मक रूपमा लिएको कुरा व्यक्त गरे।
उनले दुवै देशका सेनाबीच सम्बन्ध र सहयोगलाई विस्तार गर्न आगामी दिनमा विभिन्न क्रियाकलाप प्रवद्र्धधन गर्दै जान भियतनाम सकारात्मक रहेको विचार व्यक्त गरेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement