६ वर्षदेखि बुद्ध मूर्ति प्रहरी निन्त्रणमा


सुर्खेत – शनिबार २५६३ औं बुद्ध जयन्ती। बौद्धधर्मावलम्बीसहित देशभरका अन्यले धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन्। सुर्खेतमा पनि शनिबार शान्तिको कामनासहित बुद्ध जयन्ती मनाइयो।

सुर्खेतमा बौद्ध धर्मावलम्बीले मूर्ति प्रतिस्थापन गर्न ल्याएको बुद्ध मूर्ति विवादका कारण ६ वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। स्थानीय कांक्रेबिहार संरक्षित वनमा स्थापना गर्न ल्याइएको मूर्ति विवादका कारण प्रहरी नियन्त्रणमा रहेको हो। बुद्ध जयन्तीका अवसरमा मूर्ति राख्न लागेको जानकारी पाएलगत्तै स्थानीय प्रहरी प्रशासनले बुद्ध प्रतिमा स्थापना गर्न नपाइने उर्दी जारी गर्‍यो। र्‍यालीमा सहभागी बुद्धमार्गी र प्रहरीबीच झडप भएपछि विवाद उत्पन्न भयो।अदालतसम्म पुग्यो।

जिल्ला अदालत सुर्खेतले ०६९ सालमा गरेको फैसलाअनुसार मूर्ति जिल्ला प्रहरी परिसरमा राखिएको छ। अदालतको फैसलापछि मूर्ति काँक्रेविहार क्षेत्रमा प्रतिस्थापन हुन सकेन। शनिबार त्यही मूर्तिलाई बौद्धमार्गीले पूजा गरेर फर्किए। नेपाललाई शान्तिको सन्देश फैलाउने राष्ट्र भनेर चिनाउने बुद्धको मूर्र्ति स्थापना गर्न नदिइ थन्क्याउनु घोर अपमान भएको बौद्धमार्गीको आरोप छ। उनीहरू काँक्रेविहारमा मूर्ति राख्न पाउनुपर्ने माग राख्दै आएका छन् भने हिन्दुले सबैको साझा भएकाले मूर्ति राख्न नपाइने अडान कायमै राखेका छन्।

बुद्ध जयन्तीको अवसरमा काँक्रेविहार वनमा राख्न भारतको देहरादुनबाट ल्याइएको जीवनकुमार शाक्यले बताए। उनले मूर्ति व्यवस्थापन गर्न प्रदेश सरकारसँग आग्रह गरे। नेपाल अहिंसावादी विश्वशान्ति बौद्धधर्म संघ चक्रका सचिव एवं बौद्ध गुरु प्रेमदोर्जे लामाले बुद्ध जन्मिएको देश भनेर विश्वभरि परिचित भए पनि सरकारले चिन्न नसकेको बताए। उनले मूर्ति काँक्रेविहारमा राख्न केन्द्रसँग गुहार्दा कुनै सुनुवाइ नभएको भन्दै प्रदेश सरकारले मन्दिर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।

सरकारले अर्को बुद्धजयन्तीसम्म पनि व्यवस्थापन गर्न नसके चितवनको देवघाट वा धादिङमा मूर्ति राखिने उनले बताए। सरकारले बुद्ध जयन्तीलाई विश्वशान्ति दिवसका रूपमा मनाए पनि ७ लाख रुपैयाँ लागतमा सुर्खेत ल्याइएको मूर्तिको अपमान गरेको उनले आरोप लगाए। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement