काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व बुधबार काठमाडौं उपत्यकासहित हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ ।
प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिका दिन होली मनाउने परम्परा छ। होलीको सुरुवात भने फाल्गुण शुक्ल अष्टमीमै हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सबैको अनुकुल हुने ठाउँमा ठड्याइन्छ। अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ भनिन्छ।
मुख्य दिन भने पूर्णिमा वा चैत्र कृष्ण प्रतिपदालाई लिइन्छ। काठमाडौं उपत्यकालगायत पहाडी भूभागमा पूर्णिमामा होली मनाइन्छ भने तराई मधेशका जिल्लामा भोलिपल्ट। ठाउँअनुसार होली, फागु, होरी, होलिकोत्सव आदि नामले यो पर्व मनाइन्छ। होली होलिका वध भएको प्रसंगसँग जोडिएको छ। नकारात्मक पक्षको अन्त्य भएको खुशीयालीमा होली मनाइएको बताइन्छ।
कतै मध्यरातमा होलिकाको प्रतीक चीर जलाएर टीका लगाएपछि होली समाप्त हुन्छ। कतै भने यसवेलादेखि होली सुरु भएको मानिन्छ। ‘भागवतकै दशम स्कन्धमा कृष्णले गोपिनीहरूसँग खेलेको सन्दर्भलाई लिएर होली मनाउने चलन छ’,काफ्ले भन्छिन्।
यही प्रसंगलाई लिएर पूर्णिमाको रात होलिका दहन गर्ने परम्परा छ। लौकिक कालगणनाअनुसारको वसन्त ऋतु सुरु हुने खुशीयालीमा होली मनाइएको धारणा पनि छ। होलीमा लगाइने रंगका बेग्लाबेग्लै महत्त्व छ। प्रकृतिमा भएका सबै रंगहरूको प्रतीक हो होलीमा लगाइने रंग। पहिले पहिले प्रकृतिबाटै प्राप्त हुने रंगहरूबाट होली खेलिन्थ्यो। वनस्पति वा फूलबाट रंग बनाएर प्रयोग गरिन्थ्यो। हिजोआज होलीमा प्रयोग हुने विभिन्न रासायनिक रंगले मानिसको स्वास्थ्यमा हानि पुर्याउने पक्ष भुलिएको छ। फागु अर्थात् होलीको सुरुआत नै राक्षसी प्रवृत्तिको अन्य गरी दैवीभाव सञ्चार गर्न भएको बताइन्छ।
यो चाडमा थकालीहरू रङ्गीबिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।
फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एक आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिसहरू विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुहरूलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
प्रतिक्रिया