काठमाण्डू–छोटो भिडियो बनाउनका लागि विश्वभर लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपाललाई भ्याट बापतको रकम तिर्न आनाकानी गरिरहेको पाइएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख प्रशासक केदारनाथ शर्माले टिकटकले कर तिर्न आनाकानी गरिरहेको पुष्टि गरे । उनका अनुसार चालु आर्थिक वर्षको फागुनमै तिरिसक्नुपर्ने कर भिटकटले अझैसम्म तिरेको छैन ।
नेपालबाट करोडौं रकम लगिरहेको टिकटकले कर नतिर्ने जवाफ अधिकारीहरुलाई दिएको छ । यसअघि लगातार दुई आर्थिक वर्षमा टिकटकले करोड ३६ लाख भ्याट तिरेको थियो ।
तर, चालु आर्थिक वर्ष ०८२/०८३ मा पनि भ्याटबापत कुनै भुक्तानी गरेको देखिँदैन । शर्माले पटकपटक पत्राचार र प्रतिनिधि बोलाएर भ्याट तिर्न ताकेता गर्दा पनि अनेक बहानाबाजी गरेर टिकटकले भ्याट तिर्न नखोजेको आरोप लगाए ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले समेत उक्त विषय औंल्याएको छ । यस्तै टिकटकसहित केही कम्पनीले विद्युतीय सेवा घर तिर्नुपर्नेभन्दा कम कम तिरेकाले असुल्नुपर्ने बताइएको छ ।
सामाजिक सदभाव खलल पार्न भूमिका खेलेको भन्दै सरकारले तीन वर्षअघि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । १० महिनापछि ०८१ भदौमा ससर्त टिकटकमाथिको प्रतिबन्ध फुकुवा भयो ।
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले नेपालको कानुनबमोजिम चल्न तयार रहेको प्रतिबद्धतासहित प्रतिबन्ध फुकुवा गरिदिन सरकारलाई पत्र लेखेको थियो । प्रतिबद्धताअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ‘सामाजिक सञ्जाल व्यवस्थापन इकाइ’ मा सूचीकृत भएको थियो ।
भ्याट नतिर्ने भन्दै टिकटकले पठायो पत्र
ठूला करदाता कार्यालयले कर तिर्न राजी नभएको विषय कारणसहित खुलाएर लिखित रुपमा जानकारी गराउन टिकटकलाई भनेको थियो ।
शर्माले पटकपटको ताकेतापछि टिकटकले कार्यालयलाई पत्र पठाएको बताए । उनका अनुसार संयुक्त अरब इमिरेट्स (यूएइ) स्थित टिकटकको क्षेत्रीय कार्यालयले शुक्रबार पत्र पठाएको हो ।
पत्रमा एपस्टोर (एप्पल) र प्लेस्टोर (गुगल) ले तिर्ने भ्याटमा टिकटकको भ्याटसमेत समावेश गरिएकाले छुट्टै तिर्नुनपर्ने जिकिर गरिएको छ । ‘एप्पल र गुगलसँग हामीले छुट्टै सम्झौता गरेका छौं । सोही सम्झौताअनुसार हामीले उतै कर तिर्ने भएकाले नेपाललाई छुट्टै तिरिरहनुपर्दैन’, पत्रमा भनिएको छ ।
शर्माले टिकटकको दाबीअनुसार भ्याट तिर्नुपर्छ कि पर्दैन भन्नेबारे अध्ययन भइरहेको बताए । यदि तिनुपर्ने देखिए फेरि पत्र पठाउने उनको भनाइ थियो ।
‘दुई दिनअघि पत्र आएको हो । हामी अध्ययनकै चरणमा छौं । यदि उसको दाबीअनुसार तिर्नुनपर्ने देखियो भने ठीकै छ’, शर्माले काठमाण्डुपाटीसँग भने, ‘यदि तिर्नुपर्ने देखियो भने फेरि पत्राचार गर्छौं ।’ यद्यपि फरक कम्पनीले तिरेको भ्याटमा टिकटकको पनि समावेश भएको मान्न नसकिने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
‘टिकटकले गुगल र एप्पलसँग गरेको सम्झौतामा के छ हामीलाई थाहा छैन । उनीहरुबीचमा भएको सम्झौता हाम्रा लागि लागू हुँदैन’, अर्थ मन्त्रालयका एक सहसचिवले भने ।
शर्माका अनुसार यसअघि टिकटकका प्रतिनिधिले कार्यालयमै आएर एप्पल र गुगलसँगको सम्झौताअनुसार ती कम्पनीलाई नै भ्याट तिर्ने गरेकाले छुट्टै तिरिराख्नुनपर्ने तर्क गरेका थिए ।
कार्यालयले मौखिक भनेर नहुने भन्दै त्यही विषय उल्लेख गरेर लिखित पत्र पठाउन भनेको थियो ।




प्रतिक्रिया