सचिवालयमा मैले राखेका धारणाबारे गलत प्रचार भयोः महेश बस्नेत

सचिवालयमा मैले राखेका धारणाबारे गलत प्रचार भयोः महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू- एमाले सचिव महेश बस्नेतले शनिबारको सचिवालय बैठकमा आफूले राखेका धारणाबारे गलत प्रचार भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सचिवालय बैठकमा आफूले राखेका २४ बुँदामध्ये दुई बुँदालाई लिएर गलत ढंगले प्रचार गर्न खोजिएको बताएका हुन् ।

आफूले अध्यक्ष केपी ओली प्रहरी हिरासतमा रहेका बेला र डिस्चार्जपछि पनि स्वास्थ्य समस्यासँग जुधिरहेको अवस्थामा नेतृत्व फेर्ने कुरा गर्नुलाई आपराधिक मानसिकता भएकोको संज्ञा दिएको प्रष्टीकरण उनले दिएका छन् ।

‘अध्यक्ष केपी शर्मा ओलीलाई बालेन र सुधनले सपथ खाएको २४ घण्टा नबित्दै गिरफ्तार गरियो । कुनै आरोप पुष्टि गर्न नसकेपछि अदालतले १३ दिनपछि रिहा गर्‍यो । उहाँ हिरासतबाट घर फर्किन चाहनुहुन्थ्यो । तर त्यति बेला डाक्टरको सल्लाह मुताबिक उहाँलाई दुईवटा अपरेसन (पत्थरी र हर्निया) गर्न टिचिङ अस्पताल भर्ना गरियो’, बस्नेतले लेखेका छन्, ‘ अपरेसनपछि पनि निमोनिया र इन्फेक्सनसँग जुधिरहनुभएको संवेदनशील स्वास्थ्य अवस्थामा हुनुहुन्थ्यो । यस्तो बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र आपराधिक मानसिकता हो भन्ने मेरो स्पष्ट धारणा हो ।’

बस्नेतले ओली हिरासतमा रहेका बेला कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका रामबहादुर थापा बादलले व्यक्त गरेका साम्राज्यवादी शक्ति, अल्गोरिदममार्फत युवाहरूलाई गलत ढंगले परिचालन र राज्यको संयन्त्र सेना , प्रहरी लगायतको दुरुपयोग गरी निर्वाचन परिणाम निकालिएको भन्ने विषयमा राखेको धारणा सच्याउने निर्णय गर्नु पनि गल्ती भएको बस्नेतले बताएका छन् ।