काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्ञानु पौडेलले आफूहरुको बोल्न पाउने अधिकार कुण्डित गरिएको भन्दै संसद बैठकमा नियमापत्ति गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले विपक्षको लगातारको अवरोधले आफूहरु बोल्नबाट वञ्चित भएको बताइन् ।
आफूहरु पनि जनताको मुद्धा लिएर सदनमा आएको र बोल्न पाउनुपर्ने उनको माग थियो ।
‘हामी पनि जनताको मुद्दा लिएर आएका छौं’, उनले भनिन्, ‘बोल्न पाउने अधिकार वञ्चित गरेर सदनलाई कुण्ठित बनाइएको छ ।’
विपक्षीले सदन अवरोध गरेकामा नियमापत्ति जनाएकी पौडेललाई सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिएपछि विपक्षी दलका सांसदले टेबल ठोकेर विरोध जनाएका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको विरोधमा विपक्षीले गत १८ जेठयता लगातार सदनको बैठक अवरुद्ध गर्दै आएका छन् ।
शाहले आफ्नो भनाइ पुष्टि गर्नुपर्ने वा फिर्ता लिएर माफी नमागेसम्म सदनमा अवरोध जारी रहने विपक्षीको अडान छ ।




प्रतिक्रिया