काठमाण्डु–बालमन्दिर जग्गा प्रकरणमा नेपाल बाल संगठनका पूर्वपदाधिकारी र कर्मचारीसहित आठ जनाविरुद्ध ठगी कसुरमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा दायर गरिएको मुद्दामा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीनसचिव राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापतिहरू ओमकृष्ण कर्माचार्य, युरीकुमारी राई र भगवान शाक्य, तत्कालीन कोषाध्यक्षहरू दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारलाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परिसकेका छन् भने बाँकी पाँच जनालाई फरार प्रतिवादी कायम गरी अभियोजन गरिएको सीआईबीले जनाएको छ ।
सीआईबी प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूमाथि ठगीको कसुरमा मुद्दा दायर गरिएको हो ।
बाल मन्दिरको सम्पत्ति व्यवस्थापनमा भएको अनियमितताबारे छानबिन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले ६ वर्षअघि २०७७ सालमै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
क्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गत चैतमा गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान सम्पन्न भएपछि सोही आधारमा अदालतमा अभियोग दर्ता गरिएको हो ।




प्रतिक्रिया