काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारमा रहेको संघीय संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा प्रभावकारी रुपमा संसद् सञ्चालन, राष्ट्रिय सुरक्षाको अवस्था तथा प्राकृतिक विपद्का कारण उत्पन्न चुनौतीलगायत विषयमा आङ्देम्बेले सभामुखको गम्भीर ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।
भेटका क्रममा आङ्देम्बेले सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक द्वन्द्व र त्यसलाई नियन्त्रणमा लिने नाममा राज्यका तर्फबाट भएको हिंसाको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
उनले उक्त प्रकरणलाई सामान्य रुपमा नलिन आग्रह गरे । नागरिकलाई सुरक्षाको सुनिश्चितता गर्न र शान्ति–सुरक्षाको अवस्था सुदृढ बनाउने सिलसिलामा सरकारको कमजोरी देखिएको आरोप उनले लगाए ।
बोमलम यात्रीले चर्को आवाजमा डिजे (संगीत) बजाएपछि अर्को समूहले विरोध गर्दा आइतबार राति देवानगन्जमा झडप भएको थियो । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको थियो ।
स्थानीय प्रशासनले आइतबार र सोमबार दिनभर उक्त क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा घोषणा गर्नुका साथै सेनासमेत व्यारेक बाहिर निस्किएको थियो ।
प्रदर्शनकारीले बजार, स्थानीयका घर र सवारी साधनमा आजगनी गरेका छन् । अहिले पनि परिस्थिति नियन्त्रण उन्मुख हुँदै गएको छ ।
आङ्देम्बेले व्यवस्थापिकाको नेतृत्वको हैसियतले मुलुकमा विद्यमान चुनौती र समस्या समाधानका लागि हस्तक्षेपकारी भूमिका खेल्न सभामुख अर्याललाई सुझाए ।




प्रतिक्रिया