काठमाण्डु– लगातार तीन कारोबार दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार आएको सामान्य गिरावट एक दिनमै रोकिएको छ ।
बिहीबार बजार परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ ।
बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
बिहीबार ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ७२८ कित्ता सेयर ५१ हजार ७२८ पटक किनबेच हुँदा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०७ अंक बढेको छ । फ्लोट परिसूचक ०.९५ र सेन्सेटिभ फ्लोट परिसूचक ०.८३ अंकले उकालो लागेका छन् ।
कारोबार भएका १३ मध्ये ११ उपसमूहको सूचक बढेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्दा होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, बैंकिङ ०.५८ र लघुवित्त ०.५५ प्रतिशतले बढेका छन् ।
विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहमा पनि सामान्य वृद्धि भएको छ । लगानी र अन्य समूह भने घटेका छन् ।
कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य १२.४३ प्रतिशत बढेको छ । नारायणी डेभलपमेन्ट बैंक ६.४४, माउन्टेन हाइड्रो नेपाल ५.५१ र पिपुल्स हाइड्रोपावर ४.१९ प्रतिशत बढेका छन् ।
हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घटेको छ । सीवाईसी लघुवित्त २.८० र सिर्जनशील लघुवित्त २.७८ प्रतिशत घटेका छन् ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अगाडि छ । बैंकको ३३ करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बैंकले २० प्रतिशत लाभांश घोषणा गरेपछि यसको सेयरमा लगानीकर्ताको चासो देखिएको हो ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २७ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी र पिपुल्स हाइड्रोपावर पनि धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
बिहीबार १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनी घटेका छन् । १६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।



प्रतिक्रिया