काठमाण्डु–कांग्रेस सांसद सीता थपलिया (उर्मिला) ले विगतमा सरकारविरुद्ध स्टाटस लेखेर लडर कमाउनेहरुले अहिले सत्तामा बसेर जनताको स्टाटस नबुझेको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमा रहेकाहरूले जनताको अवस्था बुझ्न नसकेको बताइन् ।
‘सत्ता, शक्ति, अनुहार सबै परिवर्तन भए तर आज पनि नागरिकको जनजीवन उस्तै छ’, उनले भनिन्, हिजो सरकारका विरुद्ध स्टाटस लेखेर डलर कमाउँदै भ्रम र आश्वासन बाँड्नेहरूले आज किन जनताका स्टाटस बुझ्ने हिम्मत नराखेको ?’
जनताले सरकारबाट शब्द नभई कर्म र जवाफ खोजिरहेको उनको भनाइ थियो । थपलियाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सञ्चालित समाचार बुलेटिनमा जनताका दुःखका विषय नसमेटिएकामा प्रश्न उठाइन् ।
‘फेसबुकमा गुड जब लेख्न नसक्ने श्रमिक पनि नेपाली हुन् भन्ने अनुभूति सरकारलाई छ कि छैन ? किन भुइँमान्छेहरू महँगीको मारमा परेको समाचार किन पढ्दैन सत्ता पक्षको समाचार बुलेटिनमा ? किन रोजगारीको अवसरबाट बञ्चित सर्वसाधारणको समाचार वाचन हुँदैन ?’, उनले भनिन् ।
रास्वपाको आधिकारिक सामाजिक सञ्जालमा प्रतिनिधिसभा सदस्य रिमा विश्वकर्माले बाचन गरेको सरकार पक्षीय समाचार बुलेटिन पोष्ट हुँदै आएको छ ।
उनले धादिङस्थित त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको २८ दिन भइसकेको र पटक(पटक सदनबाट घच्घच्याउँदा पनि सरकार बेखबर रहेको बताइन् ।
‘सरकारका लागि यो सामान्य पुल होला, तर त्रिशूलीपारिका ८ वटा पालिका, धादिङ सदरमुकाम र उत्तरी गोरखाका लाखौँ नागरिकका लागि यो अत्यन्तै महत्त्वपूर्ण सडक हो । यो पुल हाम्रो शरीरको मेरुदण्डजस्तै हो’, थपलियाले भनिन्, ‘मेरुदण्ड भाँचिएपछि शरीर नचलेजस्तै यो पुल नहुँदा आज समग्र धादिङको जनजीवन प्रभावित हुन पुगेको छ । यसतर्फ सरकारको छिटो ध्यान जाओस् ।’



प्रतिक्रिया