स्थानीय तहले खर्च गर्न सकेनन् साढे २८ अर्ब अनुदान


काठमाडौं – स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारबाट पाएको अनुदानमध्ये साढे २८ अर्ब ५७ करोड खर्च सकेनन् । आव ०७४-७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय तहले दुई खर्ब ३३ अर्ब पाएका थिए । महालेखानियन्त्रकको कार्यालयका अनुसार त्यसमध्ये दुई खर्ब पाँच अर्ब खर्च भएको छ ।

गाउँपालिकाले १४ अर्ब पाँच करोड र नगरपालिकाले १३ अर्ब २३ करोड खर्च गरेका छैनन् । त्यस्तै, उपमहानगरपालिकाले एक अर्ब र महानगरपालिकाले २८ करोड ५० लाख अनुदान रकम खर्च गर्न सकेनन् । संघीय सरकारले गत आवमा वित्तीय समानीकरण अनुदानबापत एक खर्ब ४८ अर्ब ७५ करोड निकासा दिएको थियो ।

त्यसमध्ये एक खर्ब २२ अर्ब खर्च भयो भने २६ अर्ब ५३ करोड रकम खर्च भएन । प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा ती तहलाई समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ । त्यस्तै गत आवमा ससर्त अनुदानबापत स्थानीय तहका लागि ८५ अर्ब २२ करोड निकासा भएकोमा ८३ अर्ब १८ करोड मात्र खर्च भयो । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ

प्रतिक्रिया दिनुहोस
Advertisement