विप्लवलाई सहमतिमा आउन प्रचण्डको सुझाब


पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन् । वर्तमान सरकारले सबैलाई वार्ता संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न चाहेकाले यसलाई सदुपयोग गर्न उनले विप्लवलाई सल्लाह दिए । पोखरामा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले कम्युनिस्ट पार्टी नेतृत्वको सरकार समाजवाद उन्मुख रहेकाले पनि यस्तो अवसर चुकाउन नहुने बताए ।

वर्तमान सहज अवसर चुकाए अप्ठ्यारो पर्न सक्ने उनले चेतावनी दिए । विप्लव आफ्नै स्कुलिङमा अगाडि बढेको उल्लेख गर्दै प्रचण्डले सबैभन्दा बढी समय उनीसँँगै काम गरेको स्मरण गरे । ‘प्रचण्डले हिजो जे गरेको थियो, अहिले त्यही गर्छु भन्नु नितान्त मनोगत हुन्छ, यो पार लाउने कुरा होइन,’ उनले भने ।

पार्टी र सरकारविरुद्ध धेरै अफवाह फैलाइयो
प्रचण्डले कम्युनिस्ट नेतृत्वको सरकार एउटा वर्ग र शक्तिलाई मन नपरेकाले अनेक खालका अफवाह फैलाइएको दाबी गरे । विभिन्न प्रकारले सरकारलाई प्रहार गर्ने र जनतालाई भ्रममा पार्ने प्रयास पार्टी एकता हुनुअघि नै भएको उनको भनाइ छ । पार्टी एकता गर्ने र चुनाव पनि मिलेर गर्ने घोषणा गरेदेखि नै षड्यन्त्र सुरु भएकाले जनता सचेत बन्नुपर्ने उनको भनाइ थियो । सरकारले जनताको अपेक्षाअनुरूप काम गर्न नसकेको उनले स्वीकार गरे । जनअपेक्षा र आफूहरूको पनि अपेक्षा अझै धेरै रहेको प्रचण्डले सुनाए । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement