अशक्त प्रहरी कर्मचारीलाई आइजीपी खनालद्धारा चारपांग्रे स्कुटर हस्तान्तरण


काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त अशक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबिच चारपाङग्रे स्कुटर हस्तान्तरण गरेका छन् ।

कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई अशक्तताका कारण हिँडडुल गर्न कठिन भएका पूर्व प्रहरी निरीक्षक राम बहादुर चन्द र केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उक्त स्कुटर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले प्राप्त सवारी साधनलाई भरपुर उपयोग गरी जीवन अझै सार्थक बनाउन आग्रह गर्दै समस्या परेको बेला सहयोग गर्न संगठन तयार रहेको बताए ।

असक्त अवस्थामा पनि आँट, साहस र हिम्मतका साथ गरेको संघर्ष प्रेरणादायी रहेको उल्लेख गर्दै उनले भने, ‘तपाईहरुको आगामी दिन शुभ रहोस् ।’

नेपाल प्रहरीले आफ्ना सदस्यहरूलाई प्रहरी कल्याण कोष मार्फत आर्थिक वर्ष २०७५र०७६ को वार्षिक कार्यक्रम अनुसार ३ थान चारपाङग्रे स्कुटर खरिद गरी निस्शुल्क उपलब्ध गराएको हो ।

उक्त स्कुटरमध्ये १ थान जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक देवी नेपालीलाई प्रदान गरिने छ ।

स्कुटर हस्तान्तरण कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement