प्रधानन्यायाधीश नियुक्त गर्न आज संवैधानिक परिषद् बैठक बस्दै

प्रधानन्यायाधीश नियुक्त गर्न आज संवैधानिक परिषद् बैठक बस्दै

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन् ।

सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् ।संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।

यसअघि न्यायपरिषद् बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतसहित ८ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । न्यायपरिषद्ले वरीयताअनुसार राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषद्मा पठाएको हो । वरिष्ठतम न्यायाधीशलाई नै प्रधानन्यायाधीश नियुक्ति गर्ने परम्परा अहिलेसम्म कायम छ । यस हिसाबले वरिष्ठतम न्यायाधीश राउत प्रधानन्यायाधीश बनेमा ०८२ चैत १७ सम्म उनको कार्यकाल रहनेछ ।

प्रधानमन्त्रीले परिषद् बैठक बस्नुअघि हिजो सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा छलफल गरेका थिए । दाहालले प्रधानन्यायाधीशसँगै संवैधानिक निकायका रिक्त सबै पदमा प्याकेजमै सहमति खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।