कांग्रेसमा नेतृत्व हत्याउने रणनीति


काठमाडौं – सभापतिशेरबहादुर देउवा र संस्थापनइतर पक्षका नेताहरू १४ औं महाधिवेशनबाट नेतृत्व हात पार्ने रणनीतिमा लागेका छन्।

पार्टी नेतृत्वमा रहेका तीन कोइराला (शशांक, शेखर र सुजाता) ले आफूहरूमध्येबाटै आगामी महाधिवेशनमा एक जना सभापति उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन्। देउवा पार्टीलाई लथालिंग अवस्थामै राखेर महाधिवेशन गराउने पक्षमा छैनन्।

त्यस्तो अवस्थामा आफूविरुद्धको जनमत अझ खस्कने डर उनमा छ। निर्वाचनमा पराजयको दोष देउवालाई दिए जनमत बढाउन संस्थापनइतर पक्ष गोलबन्द छ। देउवा अनुकूल परिस्थिति निर्माण गर्ने योजनासाथ अघि बढ्ने रणनीतिमा छन्। त्यसैले उनी विजय गच्छदारलगायत तत्कालीन फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताको व्यवस्थापन गर्नेतर्फ केन्द्रित भएका छन्। यो समूहलाई व्यवस्थापन गर्न सके पार्टीभित्र आफ्नो पकड सुदृढ हुने उनको बुझाइ छ।

‘त्यसका लागि विधान अनुकूल बनाएर पार्टीका विभाग र अन्य समितिमा व्यवस्थापन गर्ने देउवाको चाहना छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कार्यसमितिको सबै संरचनामा पकड कायम गरेपछि मात्रै महाधिवेशनमा जाने सोचमा देउवा छन्।’

नेविसंघ तदर्थको बाटोमा
वरिष्ठ नेता पौडेलले विद्यार्थी संगठन नेविसंघको अधिवेशन मिति तत्काल तोक्न माग गरेका छन्। संघको वर्तमान कार्यसमितिको कार्यकाल भदौ ३ बाट सकिएको छ। उसले अधिवेशनको तिथि तोक्नसमेत सकेन। पार्टीले अधिवेशनका लागि भन्दै कार्यसमितिको म्याद तीन महिना थप गरेको छ।

तीन महिनामा अधिवेशन हुन नसके कार्यसमिति स्वतस् विघटन हुने व्यवस्था विधानमा छ। नेविसंघलाई तदर्थ समितिमार्फत चलाउन खोजिएको भन्दै पौडेल पक्षले तत्काल अधिवेशन माग गरेको हो। ‘क्याम्पस, क्षेत्र र जिल्लाको अधिवेशन तत्काल तोक्न म आग्रह गर्छु,’ पौडेलले भने, ‘संघको अधिवेशन नगराई तदर्थवादमा चलाउने बाटो रोजिए दुर्भाग्य हुनेछ।’ यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement