डिलैमा घर, लान्छ भन्‍ने डर


इटहरी – तीन दिन भयो इटहरी–४ स्थित गैरीगाउँका बासिन्दाले आँखा झिमिक्क गर्न नपाएको। निरन्तरको वर्षा अनि घरछेउमै उर्लिरहेको बूढीखोलाले तीन सयभन्दा बढी घरपरिवार बाढीले बगाउने हो कि भनेर राम्ररी गाँस हाल्नसमेत सकेका छैनन्।

दिनभरि बाढीको रमिता हेर्ने स्थानीयका आँखा रातमा पनि खोलाभन्दा अन्यत्र जाँदैनन्। परिवारका सदस्य जागै रहन्छन्। पालैपालो फुत्त खोलाछेउ पुग्छन् अनि पानी बढेको वा घटेको सूचना ल्याउँछन्। त्यसैअनुसार सबै सतर्क रहन्छन्।

दुई वर्षअघि साउन २७ गते राति बस्तीका सबै बासिन्दा खाना खाएर सुतेका थिए। राति एक्कासी बाढी आयो। मध्यरात उर्लिएको बाढी त्यही बस्तीका ६ जनाको ज्यान लिएर सामसुम भएको थियो। परिवार गुमाउनेहरू अझै त्यहीं बसिरहेका छन्। त्यो बाढीमा ४ घण्टा पौडिएर बाँचेकी सानुमाया राई भन्छिन्, ‘अन्त कहाँ जानु ? बाढी कतिखेर आउँछ थाहा हुँदैन।’

११ वर्षदेखि गैरीगाउँमै बसिरहेकी शान्ति सदाले भनिन्, ‘दिउँसो र राति पालैपालो खोला हेर्छौं।’ शुक्रबारदेखि उनी घरमा बस्नै सकिनन्। भाँडाकँुडा र केही लुगा बोकेर हिँडिन्। ‘आउँदैन हौ बाढी’, छिमेकीले भन्दै थिए। तर उनको डर छिमेकीको भरभन्दा दह्रो देखिन्थ्यो, ‘मास्तिर बहिनीकोमा जान्छु, राति उतै बस्छु’, उनले भनिन्। यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement