विराटनगरको भारतीय फिल्ड अफिस हटाउने ओलीको उद्घोष


काठमाडाै‌ – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरस्थित भारतीय फिल्ड अफिस चाँडै हटाइने बताएका छन्। ‘विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ,’ पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई शनिबार सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले भने, ‘खासमा त्यो अफिस पहिला नै हट्नुपर्दथ्यो, अब छिट्टै हट्छ।’

प्रधानमन्त्री ओलीले १९५० को सन्धि संशोधन गर्न भारत सहमत भइसकेकाले नेपाल–भारतबीच अब नयाँ खाले सम्बन्ध अगाडि बढ्ने अवस्थामा पुगेको जानकारी दिएका खबर आजको नागरिक दैनिकले छापेको छ। उनले दुई देशबीचका पछिल्ला सहमति कार्यान्वयन हुँदै जाने पनि स्पष्ट पारे।

२०६५ भदौमा कोसीमा आएको बाढीले सयौं व्यक्तिको मृत्यु र लाखौं हेक्टर जमिन डुबानमा पारेपछि उद्धार र राहतका लागि भारतले विराटनगरमा फिल्ड अफिस राखेको थियो । त्यो अफिस अहिलेसम्म हटाइएको छैन।

ओलीले आफूलाई कमजोर रूपमा प्रस्तुत नहुन पनि सांसदहरूलाई निर्देशन दिएका छन् । ‘कानुन जान्दिनँ, विषय बुझ्दिनँ नभन्नुहोस्, हामीले बनाएको कानुनमा वकिलले बहस गर्ने हो, त्यसैले हामी वरिष्ठ अधिवक्ता हौं,’ ओलीले भने, ‘ विकासको योजना पनि हामीले बनाउने भएकाले विकासमा पिएचडी गर्ने पनि हामी नै हौं।’

आगामी बजेटमा सांसद विकास कोषका लागि रकम नछुट्ट्याउने संकेत प्रधानमन्त्रीले गरेका छन् । ‘सांसद विकास कोष होइन, निर्वाचन क्षेत्र पूर्वाधार कोष नाम हुनुपर्ने हो तर सांसदलाई रकम दिन निर्णय भइसकेको छैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताए । ओलीले आफू अबको एक महिनाभित्र उत्तरी छिमेकी चीन भ्रमणमा जाने जानकारी पनि सांसदलाई गराए।

बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण गरेपछि विश्व नै आश्चर्यचकित भएको बताए । ‘पार्टी एकता एउटा असाधारण घटना हो,’ उनले भने, ‘जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाका रूपमा स्थापित भएको छ।’

उनले जेठ ७ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने र जेठ १५ गते बजेट ल्याउने भएकाले त्यसका लागि सुझाव दिन सांसदहरूलाई निर्देशन दिए । ‘एक–एकजनाले नीति तथा कार्यक्रम र बजेटमा सुझाव दिनु भन्दा प्रदेशस्तरमा एकमुष्ठ बसेर सुझाव दिनुहोस्, जसलाई आगमी बजेटमार्फत सम्बोधन गर्न सकियोस्,’ दाहालले भने । नयाँबानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा पार्टी एकीकरणको उपलक्ष्यमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले चकलेट वितरण गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement