इनिशाको शव ६ दिनदेखि शवगृहमा, अनुसन्धान गर्दै सीआईबी

इनिशाको शव ६ दिनदेखि शवगृहमा, अनुसन्धान गर्दै सीआईबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – बलात्कारपछि हत्या गरिएकी इनिशा विकको शव आफन्तले बुझ्न नमान्दा ६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा छ ।

सुर्खेतको उषा बालवाटीका विद्यालयमा ११ कक्षामा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकाले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शब नबुझ्ने अडान राखेका छन् ।

इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाउने तयारीमा रहेको छ ।

मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीले मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको पोस्टमार्टममा संलग्न भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरेन्सिक विभाग अधिकृत डा.अर्विन शाक्यले बताए ।

प्रहरी नियन्त्रणमा रहेका इनिशाका प्रेमी भनिएका युवकले सहमतीमै यौन सम्पर्क भएको र एक्कासी इनिशा बेहोस भएको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।

आफू विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र घटनाको दिन पनि सहमतिमै यौन सम्पर्क भएको बयान दिएको प्रहरी अधिकृतले बताए । ‘हामी २ वर्षदेखि शारीरिक सम्पर्क राख्दै आएका थियौ,’ उनको बयान उदृत गर्दै प्रहरी अधिकृतले भने, ‘दुवैको सहमतिमा शारीरिक सम्पर्क गर्‍यौं । सम्पर्कपछि यौनाङ्गबाट रगत आएपछि इनिशा बेहोस भएर ढलिन् ।’

त्यसपछि सहयोगका लागि साथीहरूलाई बोलाएको र ३ जनाको सहयोग मागेको उनले बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय किशोरसहित ४ जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु भएको बताए ।

फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन् ।

शनिबार बिहान प्रयोगात्मक छ भनेर घरबाट निस्किएकी थिइन् । बिहान ८ बजेसम्म घर आउने भनेर गएकी इनिशा ९ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए ।