झारफुकबाट ठीक पार्छु भन्दै बलात्कार


काठमाडौं – बिरामी बालिकालाई झारफुकबाट ठीक पार्छु भन्दै बलात्कार गर्ने माधवनारायण गाउँपालिका–४ का ४२ वर्षीय सुरेश गिरी पक्राउ परेका हुन् । गिरीले बौधीमाई नगरपालिका–३ की १३ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा बुधबार एकान्तमा लगी बलात्कार गरेको प्रहरीले बताएको छ ।

बालिकाको दाहिने हातमा सामान्य खटिरा आएपछि झाँक्री गिरीले झारफुकबाट निको पारिदिने उनलाई घरभन्दा केही पर लगेर बाँसघारीमा भूत भगाउनुपर्छ भन्दै बालिकाकी काकीलाई परै राखेर बलात्कार गरेको स्थानीयको भनाइ छ । बालिका झाँक्रीबाट बलात्कृत भएको घटनालगत्तै गिरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यता, गत मंगलबार नै चन्द्रपुर नगरपालिका–१ स्थित नुनथर जंगलमा सर्लाही बाग्मती नगरपालिकाकी १६ वर्षीय किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । किशोरी बलात्कारको आरोपमा चन्द्रपुर–१ मंगलपुरका रामकृष्ण सहनीलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।

किशोरीलाई घरबाट फकाएर लैजाने मंगलपुरकी सविता पहरीलाई समेत इलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सविताले नुनथर पुगेपछि ती पीडित किशोरीलाइ छाडेर फर्किएको र सहनीले बलात्कार गरेको उनलेले जानकारी दिए ।

नुनथर क्षेत्र लगेपछि किशोरीलाई फकाएर नसालु पदार्थ सेवन गराई रातभर जंगलमै राखेर पटकपटक बलात्कार गरेको पीडित युवतीले बताएकी छन् । मंगलबार दिउसो घरबाट निस्केकी छोरी रातभर नआएपछि अभिभावकले सवितासंग सोधपुछ गरेका थिए । पीडित किशोरी बुधबार बिहान घर आएपछि घटना सार्वजनिक भएको थियो ।

१५ दिनयता रौतहटमा बलत्कारका चार घटना सार्वजनिक भएका छन । गत २८ भदौमा गरुडा नगरपालिकाको बिर्तास्थित दीपेन्द्र प्रहरी आवासीय माविमा अध्ययनरत छात्र बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

प्रहरी विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र १७ वर्षीय विकासराज यादवलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी गरुडाका प्रहरी निरिक्षक चर्तुभुज ओझाले जानकारी दिए । यादवले आठ वर्षीया बालिका बलात्कार गरेको उजुरी परेको छ ।

सोही विद्यालयमा कार्यरत कर्मचारीकी छोरीलाई २३ भदौमा बलात्कार गरेको उनीमाथि आरोप छ । रौतहटको ईशनाथ नगरपालिका–१ औरैयाटोलका यादव सोही विद्यालयको छात्रावासमा बस्दै आएका थिए । यस्तै, जिल्लाको गढीमाई नगरपालिका–३ गम्हरियाकी १२ वर्षीया बालिकालाई गत १९ भदौमा स्थानीय ५० वर्षीय सहमद अन्सारीले ललाईफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको घटना गाउँमै मिलाउन भन्दै अन्सारीले १ लाख २० हजार रुपैयाँ जरिवाना गरेको र पीडितलाई गाउमै बन्धक बनाएर राखिएको घटनाले सनसनी मच्चाएको छ । यो खबर आजको राजधानीमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement