सत्तापक्ष जोशीको नाम अनुमोदन नगर्ने पक्षमा, प्रतिपक्ष रोक्ने रणनीतिमा


काठमाडौं – प्रधान न्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक आज बस्दैछ । यसअघि बसेका बैठकले निर्णय गर्न नसकेपछि बैठक आजका लागि बोलाइएको छ ।

आजको बैठकबाटै उनको नाम अस्वीकृत गर्ने तयारीमा नेकपा रहेको छ । जसलाई फोरम नेपालका एक सांसदले समर्थन गरेमा सहजै जोशीको नाम अस्वीकृत हुन सक्छ ।

उनको शैक्षिक प्रमाणपत्र सबैभन्दा बढि विवादमा परेको छ । त्यसबाहेक उनलाई न्यायाधीशमा सिफारिस गर्दा नै आएका तथ्य लगायतका प्रमाण पनि नेकपाका सांसदले जुटाएका छन् । फोरम नेपालका राजेन्द्र श्रेष्ठले नेकपाको प्रस्तावमा समर्थन जनाए उनी स्वतः अस्वीकृत हुनेछन् । नेकपाले सकेसम्म सहमति कायम गर्ने प्रयास गरेको छ ।

तर कांग्रेसले अस्वीकृत गर्न नहुने र प्रमाणपत्र छानबिनका लागि विशेष समिति बनाउनुपर्ने प्रस्ताव अघि सारेको छ । जबरजस्ती गरिए बहिस्कार गर्ने चेतावनी कांग्रेसले दिएको छ । यसअघिको बैठकमा पनि समितिले जोशीको नाम अनुमोदन गर्न सकेन ।

जोशीलाई अस्वीकृत गर्न आवश्यक प्रमाण जुटाउने जिम्मा सांसद योगेश भट्टराईले पाएका छन्। समितिमा जेष्ठ सदस्यको रुपमा सभापतित्व ग्रहण गरिरहेका लक्ष्मणलाल कर्णले आज अनुमोदन गर्ने वा नगर्ने निर्णय हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement