प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत, कांगेसद्धारा मतदान बहिस्कार


काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । सुनुवाई भएको ९ दिनपछि समितिले दुई तिहाई बहुमतबाट जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको हो ।

प्रमुख विपक्षी दल कांग्रेसले भने बैठक बहिस्कार गरी मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्यो ।

१५ सदस्यीय सुनुवाइ समितिमा सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् । राजपाबाट सदस्य रहेका लक्ष्मणलाल कर्ण जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण मतदान गरेनन् । कर्णले जोशीलाई अस्वीकृत गर्ने र स्वीकृत गर्नुपर्छ भन्ने दुबै पक्षले लिखित रुपमै मत राखेको बताए ।

कांग्रेसका चार सांसदले जोशीलाई अनुमोदन गर्नुपर्ने कारण लिखित रुपमै राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका भावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेका छौं’ भनेर उनीहरुले लिखित पत्र नै पेश गरेका थिए ।

नेपालमा अन्तरिम संविधान २०६३ पछि प्रधानन्यायाधीश, न्यायाधीश, राजदूत र संवैधानिक निकायका पदाधिकारीहरुको संसदीय सुनुवाइको व्यवस्था गरिएको हो । नेपालको संसदीय इतिहासमा सम्बन्धित पदमा सिफारिस व्यक्तिको नाम सुनुवाइ समितिले पहिलो पल्ट अस्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement