प्रस्तावित न्यायाधीशविरुद्ध दुईवटा मात्र उजुरी


काठमाडौँ – सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायाधीशमध्ये दुई जनाविरुद्ध व्यक्ति किटान गरी उजुरी दर्ता भएका छन् । संसदीय सुनुवाइ समितिले तोकेको समयमा पाँच उजुरी दर्ता भएकोमा दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् । अन्य तीन उजुरी दुई न्यायाधीशविरुद्ध दर्ता भएका छन् ।

उजुरी दर्ता गर्ने समय सोमबार सकिएको छ । सोमबारसम्म प्रस्तावित न्यायाधीश प्रकाश ढुङ्गानाविरुद्ध दुई र हरिप्रसाद फुंयालविरुद्ध एक उजुरी दर्ता भएको छ । सिफारिसप्रति आलोचना गरिएका प्रस्तावित न्यायाधीश मनोजकुमार शर्मा्विरुद्ध कुनै उजुरी परेको छैन ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले प्रस्तावित न्यायाधीशविरुद्ध पाँच उजुरी परेको बताए ।

अर्यालले भने ‘तीन उजुरी व्यक्तिको नाम किटान गरेर दर्ता भएका छन् । अन्य दुई उजुरी सैद्धान्तिक विषयमा केन्द्रित छन् । समितिले मंगलबार उजुरी सार्वजनिक गर्नेछ ।’

समितिले मंगलबार दिउँसो २।०० बजे उजुरी सार्वजनिकका लागि बैठक बोलाएको छ । न्यायाधीशसँगै प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाविरुद्धका उजुरी पनि मङ्गलबार नै खोलिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement