काठमाडौं – कक्षाकोठाको पल्लो छेउमा बनाइएको अगेनामा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुनगाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन्। छेउमै उनकी छिमेकी छत्रमाया सुवेदी आलु ताछ्दैछिन्।
केही बेरमा सुशीलाले अगेनोमा भाँडो बसालिन्। आलु र गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो। लगत्तै पिठो मुछेर उनीहरुले रोटी पनि तयार पारे। उनीहरुले पकाइतुल्याइसकेको केही बेरमा टिनिनिनी घण्टी बज्यो। विद्यालयका बालबालिका लाम लागे।
उनीहरुलाई सुशीला र छत्रमायाले कचौरामा तरकारी र प्लेटमा रोटी राखेर दिए। विद्यार्थीलाई खुवाइसकेपछि उनीहरु शिक्षकलाई पनि खुवाएर भाँडाकुँडा सफा पारी उनीहरु घर फर्किए। सदरमुकाम चरीकोटनजिकको मकैबारी आधारभूत विद्यालयमा एउटा कोठामा बनाइएको भान्सामा खाजा पकाउन खटिएको सुशीला र छत्रमायाको उद्देश्य व्यापार गर्नुभने होइन।
यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ। विद्यालयमै पुगेर अभिावकले पकाएको स्वस्थ खाजा यहाँका विद्यार्थीले खान्छन्। अभिभावकले पालैपालो खाजा तयार पार्छन्। बालबालिकामा जंक फुडको लत लागेपछि विद्यालयको पहलमा अभिावकले प्रतिविद्यार्थी १० रुपैयाँ उठाएर भान्सा सञ्चालन गरेका खबर आजको नागरिक दैनिकमा रमेश खतिवडाले दोलखाबाट लेखेका छन्।
एकदेखि ७ कक्षासम्म पढाइ हुने यो विद्यालयमा एकसय विद्यार्थी पढ्छन्। जंक फुड रोक्न विद्यालयले विद्यालमै भान्सा सञ्चालन गरेको हो।




प्रतिक्रिया