काठमाडौं – बिहानको १० बजेको छ। कार्यालय समय भएकाले सडकमा सवारीको चाप थामिनसक्नु छ। महाराजगञ्जको मुख्य चोकमा ट्राफिक व्यवस्थापनका लागि खटिएका दुई जवान र एक ट्राफिक हबल्दारलाई भ्याइनभ्याइ छ।
जेब्रा क्रसिङमा बाटो काट्ने र सडकका दाँयाबाँयाका फुटपाथमा हिँड्ने प्रत्येक पैदलयात्रीले ‘मास्क’ लगाएर हिँडेका छन्। मास्क लगाउन छुटेकाहरू पनि उफ् गर्दै हातले हम्केर या त हातले नै मुख छोपेर हिँडेका छन्, मानौं उनीहरू उकुसमुकुस छन्।
लाग्छ, मास्क लगााउनु अनिवार्य पालना गर्नैपर्ने नियमभित्र पर्छ। यसैबीचमा सडकका खाल्डाखुल्डीमा घ्याच्चघ्याच्च गर्दै र असन्तुलित हुँदै गुडिरहेका छन् सवारीसाधन र चौतर्फी उडिरहेको छ धुलो। यो अवस्था हो, हजारौं सर्वसाधारण आवतजावत गर्ने तथा उत्तिकै संख्यामा सवारीसाधन हुँइकिने उपत्यकाका सडकको।
उपत्यकाका अधिकांश सडकको पछिल्लो अवस्था यस्तै खाल्डाखुल्डीमय छ भने यात्रुहरू जोखिम मोलेरै हिँड्डुल गर्न बाध्य छन्। मंगलबार उपत्यकाका मुख्य सडकअन्तर्गत पर्ने महाराजगञ्जदेखि टेकुसम्मको १० किलोमिटर सडकको स्थलगत अनुगमन गरिएको थियो।
अनुगमन क्रममा काठमाडौंको अत्यन्तै महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेका महाराजगञ्ज, वसुन्धरा, धापासी, सामाखुसी, गोंगबु चोक, नयाँ बसपार्क, माछापोखरी, बालाजु चोक, नयाँ बजार, सोह्रखुटे, लैनचौर, जमल, त्रिपुरेश्वर हुँदै टेकुसम्मको १० किलोमिटर सडक खण्डमा २५० भन्दा बढी खाल्डाखुल्डी पाइएको छ। यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिक्रिया