चिकित्सक हडतालमा-आजदेखि आकस्मिकबाहेकका सेवा बन्द


काठमाडौं – त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले १३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) ले शुक्रबारदेखि आकस्मिकबाहेकको सेवा ठप्प पार्ने घोषणा गरेको छ ।

एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा.विश्वराज तिमल्सिनाले विज्ञप्तिमार्फत १३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले स्तब्ध बनाएको उल्लेख छ । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन् ।

एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ । हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ ।नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक एवं पेसाकर्मीले बुधबारैदेखि देशभरका स्वास्थ्य संस्थामा एक घण्टा सेवा छाडेर धर्नाको कार्यक्रम जारी राखेका छन् ।

संघले सरकार तत्काल संवेदनशील नभए देशभर सेवा ठप्प पार्ने चेतवनी दिँदै आएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसंस्थामा कुनै किसिमका बन्द, हडताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न स्वास्थ्यकर्मीलाई चेतावनी दिएको छ ।

मन्त्रालयले देशमा बाढीपहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने समय भएको भन्दै देशभरका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई नियमित रुपमा कामकाजमा खटिन समेत निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीद्वारा हस्ताक्षरित सूचनामा अस्पतालभित्र बन्द, हडताल, घेराउ गरेगराएको पाइएमा त्यसमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सञ्चालन एन २०१४ को दफा ३ उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उल्लेख छ ।

मार्सी चामल लिएर प्रदर्शनकारी बालुवाटारमा
डा. केसीका समर्थकले मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर चिकित्सा शिक्षा विधेयकलाई माथेमा कार्यदलको प्रतिवेदनविपरीत पारित गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक केजी मार्सी चामल उपहार दिन खोजे तर बुझाउन पाएनन् ।

केही दिनअघि झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको घरमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मार्सी चामलको भात खाइरहेको तस्बिर सार्वजनिक भएको थियो ।

पछि सरकारले चिकित्सा शिक्षा विधेयक प्रसाईंको कलेजलाई सम्बन्धन दिन सहज हुनेगरी संसद्मा पेस गरेको थियो ।बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एक किलो मार्सी चामल पुर्याउन गएको डा.केसी एलाइन्सका प्रितम सुवेदीले जानकारी दिए । धर्नामा सहभागीले ‘प्रधानमन्त्री ज्यु, जुम्लाको चामल त खानुभो, अब जुम्लामा एमबिबिएस पढाइ कहिलेदेखि हुन्छ, म रैती हैन, सार्वभौम नागरिक हुँ, माफियामुखी ऐन चाहिँदैन’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।  यो समाचार आजको नागरिक दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस
Advertisement