नेकपा एकता प्रकृया लम्वियो, केन्द्रीय नेता जिम्मेवारी विहीन


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु ९ महिनादेखि भूमिका विहीन भएका छन् । पार्टी एकता हुँदा तीन महिनाभित्र जनसंगठन एकता गर्ने घोषणा गरिएको थियो । तर पार्टी एकता भएसँगै शीर्ष नेतृत्वबीचको आन्तरिक विवादका कारण एकता प्रक्रिया लम्बिँदै आएको छ ।

पार्टी एकीकरण हुँदा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति गठन भएको थियो । केन्द्रीय समितिले पूर्णता पाए पनि पार्टीेले अझै जिम्मेवारी दिन सकेको छैन । सचिवालय र स्थायी समितिको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने एजेन्डा समावेश भए तापनि मूर्त रुप पाउन सकेको छैन।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले लामो समयसम्म केन्द्रीय सदस्यको कार्यविभाजन नहुँदा अन्योल सृजना भएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी एकता भएको तीन महिनाभित्र एकता प्रक्रिया टुंगो लगाउने घोषणा हुँदा निकै आशा जगाएको थियो, नौ महिना हुँदा समेत केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन ।’

झन्डै आधाभन्दा बढी केन्द्रीय सदस्य सांसदको भूमिका रहेका छन् भने बाँकी केन्द्रीय सदस्य जिम्मेवारीविहीन भएका छन् । सांसद हुने केन्द्रीय सदस्यहरुले भूमिका पाए पनि पार्टीले भूमिका नदिँदा सांसद नभएका केन्द्रीय सदस्य अन्योलमा परेका हुन् ।

‘पार्टीले समयमा नै जिम्मेवारी दिएको भए संगठन निर्माणमा पनि ठूलो योगदान गर्ने थियो, समयमा नै कार्यविभाजन गरेर जिम्मेवारी नदिँदा कार्यकर्तामा समेत ठूलो निराशा छ’ –केन्द्रीय सदस्य ठाकुरले भन्नुभयो ।

यसअघि बसेको स्थायी समिति बैठकले पार्टीको सांगठानिक एकता प्रक्रिया टुंगो लगाउन नौ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले पुस महिनाभित्र नै एकताको टुंगो लगाउने गरी प्रतिवेदन बुझाउनुपर्ने म्यान्डेट पाएको थियो । माघ ९ नाघिसक्दा पनि एकता प्रक्रिया ज्यूँका त्यूँ छ । पटक–पटकको कार्यदल बैठकले पनि शीर्ष नेताको आन्तरिक गुटबन्दीका कारण सहमति जुटाउन सकेको छैन ।

कार्यदलमा रहेका नेताहरु मन्त्री र मुख्यमन्त्री भएकाले पर्याप्त बैठक समेत बैठक समेत बस्न नसकेको कार्यदलका एक सदस्यले बताए । उनले भने– ‘सांगठानिक एकता प्रक्रिया छिटो टुंगो लागोस् भन्ने कार्यकर्तामा चासो र चिन्ता छ, तर कार्यदलमा रहेका नेताहरुको कार्यव्यस्तताले आवश्यक बैठक समेत बस्न सकेको छैन् ।’ कार्यदलले प्रतिवेदन तयार गर्न गृहकार्य गरे पनि शीर्ष नेताकै अडानले सहमति जुट्न नसकेको बताइएको छ ।

कार्यदलले समयमा प्रतिवेदन बुझाउन नसकेकोप्रति अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चासो दिनुभएको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेश भ्रमणमा रहनुभएको छ भने अर्का अध्यक्ष अस्वस्थ्य भएर आफ्नै निवासमा आराम गरिरहनुभएको छ ।
केन्द्रीय सदस्यहरुले पार्टी एकताको प्रक्रिया तत्काल टुंगो लगाउन दबाब दिएपनि शीर्ष नेतृत्वले भने बेवास्ता गर्दै आएको छ ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement