प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण डेडलाइन तोक्दै ओली र प्रचण्डले दिए निर्देशन


काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न सबै कार्यदललाई निर्देशन दिएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ को डेडलाइन तोकेका हुन् । लगत्तै महासचिव विष्णु पौडेलले विशेष परिपत्र जारी गर्दै आठ वटा कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् ।

यसअघि जेठ १६ गते जारी गरिएको विशेष सुर्कुलरमा १५ दिनभित्र एकीकरणको प्रतिवेदन बुझाउन भनिए पनि दुई महिनासम्म कुनै पनि कार्यदलले काम सकेन ।

बिहीबार जारी भएको सर्कुलरमा तिथिमिति तोकेर एकीकरणको का सम्पन्न गर्न निर्देशन दिइएको छ । जसअनुसार भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण सम्पन्न गरिसक्नुपर्नेछ । भदौ १५ गतेभित्र जनवर्गीय संगठजनका केन्द्रीय कमिटीको एकीकरण गरी पहिलो बैठक बस्नुपर्नेछ ।

एकीकरणबाट गठन हुने जनवर्गीय संगठनका केन्द्रीय कमिटीमा संयोजक र आवश्यकताअनुसार सहसंयोजकहरु रहने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

भूगोलका ७७ जिल्ला कमिटी बाहेक काठमाडौं उपत्यकामा युवा, विद्यार्थी, मजदुर, पेशागत र उद्योग व्यवसायीको अलग्गै जिल्ला कमिटी गठन गर्न कार्यदल गठन भएको छ । यसका साथै अन्य कमिटीहरु एकीकरणका लागि पनि कार्यदल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement