नेपाली सेनालाई राजनीतिक भेटमा कडाइ


काठमाडौं  – सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ। सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आचार संहिता सेनाले तयार पारेको छ। बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो।

आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक एवम् कूटनीतिक भेटघाट, भर्ना छनोट, लैंगिक आचरण र उपहार लेनदेनसम्बन्धी विषय छन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याएको बताए। उनले भने, ‘जंगीअड्डालगायत सबै सैनिक अंगमा एक सातासम्म सैनिक आचार संहिताका कक्षा सञ्चालन हुनेछ।’ जंगीअड्डाले शुक्रबार सैनिक आचार संहिता संग्रह—२०७६ सार्वजनिक गर्दै छ।

आचार संहिता कार्यान्वयनपछि कुनै पनि विदेशी संघसंस्थाका अधिकारीले स्वीकृतभन्दा बाहेक सैनिक संगठनभित्र कक्षा सञ्चालन गर्न पाउने छैनन्। यस्तै स्वीकृतिबिना सैनिक अधिकारीले कूटनीतिक भेटघाट गर्न पाउने छैनन्। जंगीअड्डाको विदेश शाखाबाहेक अन्य शाखाबाट विदेशी नियोगलाई पत्राचार गर्न नपाइने आचारसंहितामा उल्लेख छ।

सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याइएको हो। –विज्ञानदेव पाण्डे, सैनिक प्रवक्ता प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनबमोजिम नेपाली सेनाले संगठन सुदृढीकरणका लागि आचार संहिता बनाएको हो। संगठनको गोप्य सूचना चुहाए वा अनावश्यक टीकाटिप्पणी गरे त्यस्ता कार्य दण्डनीय हुने आचार संहितामा उल्लेख छ।

आफूलाई फाइदा पुग्ने गरी सैनिक अधिकारीले नीतिनियम बनाउन लबिङ गर्न पाउने छैनन्। हरेक सैनिक कमान्डरले यौनजन्य दुव्र्यवहार र लैंगिक विभेदरहित वातावरण बनाउनुपर्नेछ। नेपाली सेनाले उपहार लेनदेनमा समेत कडाइ गरेको छ।

ठेकेदारले रासनपानी र अन्य सामग्री उपलब्ध गराउँदा कम गुणस्तरको दिएपछि त्यसबापत उनीहरूले सम्बन्धित विभागका सैनिक अधिकारीलाई उपहार दिँदै आएको आरोप छ। ठेकेदारबाट उपहार लेनदेनलगायत अवाञ्चित गतिविधिमा सैनिक अधिकारी संलग्न हुन नहुने आचारसंहितामा उल्लेख छ। तालिमका क्रममा प्राप्तांक, ग्रेडिङ र मर्यादाक्रमलाई प्रभावित पार्ने उद्देश्यले उपहार दिन पाइँदैन। शान्ति सेनाबाट फर्केर आउँदा स्वेच्छाले बाहेक कमान्डर वा सम्बन्धित युनिटको दबाबमा उपहार ल्याउन निषेध गरिएको छ।

तोकिएको अवस्थामा बाहेक सैनिक अधिकारीले पोसाकमा मदिरा सेवन गर्न पाउने छैनन्। सैनिक पोसाकमा देखिने गरी मोबाइल बोक्नसमेत निषेध गरिएको छ। आफ्नो जाति, धर्म, क्षेत्रसँग सम्बन्धित भएका आन्दोलनबारे सैनिक अधिकारीले सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने उद्देश्यले लाइक, कमेन्ट, सेयर गर्न पाउने छैनन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार जंगी अड्डामा आचारसंहिता सप्ताह उद्घाटन गर्ने कार्यक्रम छ। आइतबारदेखि मुलुकभरका सैनिक अड्डामा सैनिक आचार संहितासम्बन्धी कक्षा सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सैनिक अधिकारीको आचरण र व्यवहारमा परिवर्तन ल्याउन जंगीअड्डाले आचारसंहिता सप्ताह मनाउन लागेको हो। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement