निर्मला बलात्कार हत्या प्रकरणः पक्राउ परेका विष्ट ‘निर्दोष’


कञ्चनपुर – तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।

महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् मानसिक सन्तुलन गुमाएका मागेर खाने दिलीपका पक्षमा बोलिदिने केही नभएकाले प्रहरीले उसलाई फसायो ।

उनी मात्रै नभइ नजिकबाट दिलीपलाई बुझेका गाउँले मानसिक सन्तुलन गुमाएका निर्दोष दिलीपलाई निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप लगाएकोमा स्तब्ध देखिन्थे ।

महिला नजिक जान पनि लजाउने, सबैसँग डराउने र अहिलेसम्म कुनै महिलाप्रति कुदृष्टि नलगाएका दिलीपले निर्मलाको बलात्कारपछि हत्या गरेको हुनै नसक्ने अर्की छिमेकी वृद्धा लक्ष्मीदेवी विष्टले बताइन् । खानेकुरा दिँदा पनि हातबाट नसमातेर भुइँमै राख्न भन्थ्यो उनले भनिन् ।

वास्तविक हत्यारा बचाउन मानसिक सन्तुलन गुमाएका दिलीपलाई फसाएको स्थानीय रामसिंह विष्ट बताउँछन् । झिसमिसेमै दूध बेच्न जाने महिला देख्दा पनि दिलीपले बाटो छाडेर हिँड्ने गरेको सोही गाउँकी सीतादेवी थापाले बताइन् ।

दिलीपका ८२ बर्षीय बुबा कमलसिंह विष्ट मानसिक सन्तुलन गुमाएका छोरालाई झुटो आरोप लगाएर फसाएकोमा चिन्तित थिए । प्रहरी कार्यालयमा छोरा भेटेर फर्कंदै गरेका कमलसिंहले भने, मेरो छोराले मानसिक सन्तुलन गुमाएको छ, उसले कसैको केही बिगार्दैनथ्यो । सानोमा पढाइमा अब्बल रहेको छोरा कक्षा ९ मा पढ्ने बेला कुटाइ खाएपछि मानसिक सन्तुलन गुमाएको उनले बताए । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement