‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताउनुभएको छ । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उहाँले यो केपी–बादल कम्पनीको आपराधिक र षड्यन्त्रकारी निर्णय भएको दावी गर्नुभयो ।

गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले नेकपालाई कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । ‘जनयुद्धका तत्कालिन नेतृत्व गरेका प्रचण्डहरु तुच्छ स्वार्थका लागि कांग्रेस, एमाले र भारतसँग घाँटी जोड्न पुगेदेखि हामीहरुले जनता र राष्ट्रको भविष्यको लागि क्रान्तिको झण्डा निरन्तर उठाउँदै २०७२ मा घोषित संविधानलाई अस्वीकार गर्दै आएका छौं’–विप्लवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चुनाव बहिष्कारयता राज्यबाट आफ्नो पार्टीका तीन कार्यकर्ताको हत्या भएको र तीन दर्जन भन्दा बढीलाई घाइते बनाएको दावी गर्दै विज्ञप्तीमा थपिएको छ–‘केपी–बादल कम्पनी’ देश र जनताविरुद्ध अपराधिक षडयन्त्र गरिरहेकाले त्यसप्रति गम्भीर ध्यान दिन बुद्धिजीवि, मानवअधिकार, पत्रकार, लोकतान्त्रिक, कम्युनिस्ट तथा देशभक्त शक्ति, प्रहरी र सेनासँग विशेष आग्रह गर्दछौँ ।

उहाँले विज्ञप्तिमार्फत् अरुण ३ जलविद्युत आयोजना, नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेल र म्यानपावर कम्पनीमाथिको आक्रमणको जिम्मा लिनुभएको छ । चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दावी विज्ञप्तीमा गरिएको छ ।

७७ कार्यकर्ता पक्राउ
नेपाल प्रहरीले एक महिनामा विप्लवका ७७ नेता-कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले बम विस्फोट, चन्द संकलन जस्ता क्रियाकलापमा संलग्न भएको आरोपमा फागुनमा मात्र त्यति नेता-कार्यकर्ता पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले विप्लवमाथि प्रतिबन्ध लगाइएपछि चार कार्यकर्ता पक्राउ परेका बताउँदै जानकारी दिनुभयो, ‘गलत काम गर्ने कसैलाई छुट हुादैन, नियम÷कानुन अनुसार कदम अगाडि बढाइएको छ ।’ यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement