प्रहरीको सुरक्षामाथि गोरेलाई शंका, सेनाको माग


काठमाडौ – साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ ।

‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग ग-यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

गोरेका भाइ दुबईमा पक्राउ
सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । उनी दुबईबाट पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को आग्रहमा दुबई प्रहरीले रमेशलाई पक्राउ गरेको हो । रमेश पक्राउ परेको उच्चस्तरीय छानबिन समितिका डिएसपी भीष्म हुमागाईंले पुष्टि गरे ।

उनले भने, ‘रमेशविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो  । उनी पक्राउ परे भन्ने सुनिएको छ । यस विषयमा हामी बुझ्दै छौँ ।’ रमेशलाई नेपाल ल्याउन आवश्यक कागजात मिलाउने काम भइरहेको छ । केही दिनभित्रै उनलाई नेपाल ल्याइने समितिले जानकारी दियो ।

तस्करीमा रमेशको ‘कनेक्सन’

सुन तस्करी प्रकरणमा उनलाई गोरेपछिका मास्टरमाइन्ड तस्कर मानिएको छ । समितिका अनुसार तस्करीको सुन दुबईबाट रमेशले नेपाल पठाउँथे । उक्त सुन नेपालमा गोरेले बुझ्थे । भारतसम्म पु-याउने काम गोरेले गर्थे । समितिका अनुसार सुन खरिदपछि भुक्तानीबापतको रकम हुन्डीमार्फत रमेशले बुझ्थे र विक्रेतालाई भुक्तानी गर्थे । यो समाचार आजको नयां पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement