पूर्वाधारै नभएका शिक्षालय नमुना घोषित


काठमाडौं – सरकारले आफ्नो स्वामित्वमा भवन नभएका र पढाउने विषय यकिन नभएका तीन प्राविधिक शिक्षालयलाई नमुना घोषणा गरेको छ । समाचारस्रोतका अनुसार शिक्षा मन्त्रालयको दबाबमा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले महोत्तरीको बर्दिवासस्थित खयरमारामा निर्मल लामा प्राविधिक शिक्षालय, चितवनको माडीमा दिवाकर प्राविधिक शिक्षालय र दाङमा कृष्ण सेन प्राविधिक शिक्षालयलाई कक्षा सञ्चालन गर्न स्वीकृत दिएको हो ।

उक्त स्वीकृतिमा राजनीतिक दवाव पनि परेको स्रोतको जिकीर छ । सिटिइभीटी स्रोतले भन्यो–विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको दवावमा निर्मल लामा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा दिवाकर र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलका सल्लाहकार जीवन गौतमको दबाबमा कृष्ण सेन प्राविधिक शिक्षालय खोलिएको हो ।

‘आव २०७५÷०७६ को सिटिइभीटीको स्वीकृत बजेटमा हाल सञ्चालित प्राविधिक शिक्षालयको स्तर उन्नति गरी भवन र औजार थपी नमुना बनाउने उल्लेख भए पनि एक वर्षअघि सञ्चालित प्राविधिक शिक्षालयलाई नमुना बनाउने प्रस्ताव लगेको हो’–समाचार स्रोतको दावी छ– ‘सिटिइभीटीले आफ्नै नीतिविपरित सदस्यसचिव पुष्परमण वाग्ले र मन्त्रीलाई खुसी बनाउन परिषद् बैठकमा उक्त प्रस्ताव लगियो ।’ यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement