दाताको खर्चमा सांसदलाई तालिम दिने तयारी


काठमाडौँ – संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ ।

संसद् सचिवालयले ‘संसदीय प्रशिक्षण’ शीर्षकमा ३७ लाख ५० हजार रुपैयाँ बजेट छुट्टयाए पनि राष्ट्रसंघीय विकास कार्यक्रम (यूूएनडीपी) को लगानीमा नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो । बुधबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई सहभागी गराउने जनाइएको छ ।

प्रशिक्षण आयोजक संसद् सचिवालय भनिए पनि सम्पूर्ण खर्च यूएनडीपीले बेहोर्ने जानकारी स्रोतले दियो । ‘सांसदलाई तालिम शीर्षकमा बजेट भए पनि दाताको खर्चमा प्रशिक्षण दिइनु लाजमर्दो काम हो,’ सचिवालय स्रोतले भन्यो, ‘आफ्नै बजेटबाट गरेको भए राम्रो हुन्थ्यो ।’

यूएनडीपीले सांसदलाई खाना, खाजा, स्टेसनरी, प्रशिक्षण भत्तालगायत खर्च बेहोर्नेछ । दाताको लगानीमा जनप्रतिनिधिलाई तालिम दिन लागिएको भन्दै कतिपय सांसदले समेत असन्तुष्टि जनाएका छन् । नेकपाका सांसद झपट रावलले अपारदर्शी र राज्यको नियन्त्रणबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेका कुनै पनि कार्यक्रममा आफू सहभागी नहुने बताए ।

‘देश र जनताका लागि काम गर्ने भनेर हामीले राज्यबाट सुविधा लिइरहेका छौं । अरूलाई सिकाउने यस्ता एनजीओ, आईएनजीओ र दाताहरू जबसम्म आफैं पारदर्शी हुँदैनन् र राज्यले तिनलाई नियमन गर्दैन, तबसम्म कुनै पनि कार्यक्रममा जान्नँ,’ उनले भने । त्यस्ता संस्थाले यसखाले कार्यक्रम गरेको फोटो खिचेर रकम भजाउने काम गर्ने भन्दै उनले त्यसको नियमन जरुरी रहेको औंल्याए । यस्ता कार्यक्रममा सांसद सहभागी हुँदा उसको अपारदर्शितामा साथ दिएको ठहरिने बुझाइ रावलको छ । ‘सदन चलेको दिनसमेत यस्ता एनजीओ, आईएनजीओ र दाताले भत्ता दिएर हामीलाई प्रभावमा पार्ने कार्यक्रम गरिरहेका हुन्छन्,’ उनले भने, ‘यो अनैतिक काम हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement