सात महिनामै ५ खर्ब १५ अर्ब रेमिट्यान्स

सात महिनामै ५ खर्ब १५ अर्ब रेमिट्यान्स


काठमाडौं- चालू आर्थिक वर्ष २०७५-७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएकोे छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने कामदारलाई दिइने अन्तिम श्रम स्वीकृति (संस्थागत एवं व्यक्तिगत) का आधारमा राष्ट्र बैंकले कामदार बाहिरिने संख्या समीक्षा अवधिमा ३९ दशमलव २ प्रतिशतले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले घटेको थियो । यसैगरी, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या सो अवधिमा ४ दशमलव ९ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ६ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७ दशमलव ३ प्रतिशतले वृद्धि भई ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो ।

यसैगरी गत माघ मसान्तसम्म कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँको नयाँ सेयर सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय तथा आर्थिक स्थितिबारे समीक्षा गरी सो तथ्यांक बाहिर ल्याएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँका नयाँ सेयर सूचीकृत भएका थिए । सो अवधिमा कुल १५ अर्ब ९ करोड बराबरको साधारण सेयर ७ अर्ब ३९ करोड बराबरको हकप्रद सेयर, ६ अर्ब ६५ करोड बराबरको बोनस सेयर गरी कुल २९ अर्ब १३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका थिए ।

२०७४ सालको माघ मसान्तमा १३८० दशमलव ३ बिन्दु रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८ दशमलव ३ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा ११२८ दशमलव २ बिन्दुमा रहेको छ । गत असार मसान्तमा नेप्से सूचकांक १२१२.४ बिन्दु कायम भएको थियो । धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा १४ दशमलव ७ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा १३ खर्ब ७७ अर्ब १५ करोड कायम भएको छ ।

बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा गत आर्थिक वर्षको माघ मसान्तमा १० दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिको बजार पुँजीकरणको अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६२ दशमलव १ प्रतिशत रहेको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या चालू आर्थिक वर्षको माघ मसान्तमा २०३ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४९ वटा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका रहेका छन् भने १८ वटा उत्पादनमूलक र प्रशोधन उद्योग, २४ वटा जलविद्युत् कम्पनी, चार-चारवटा होटल तथा व्यापारिक संस्था र चारवटा अन्य समूहका रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।