स्पेन दूतावासमा चुलियो आर्थिक अनियमितता


 काठमाडौं – स्पेनस्थित नेपाली दूतावासले सार्वजनिक खरिद प्रक्रिया लत्याउँदै दूतावासलाई आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेको खुलासा भएको छ ।

तेस्रो पक्ष बिमा नगरी सवारी खरिद गरेको दूतावासले ‘भिजिटिङ कार्ड’ र कार्यालयको ढोकामा राखिने ‘नेम प्लेट’ बनाउने खर्चसमेत पारदर्शी ढंगमा गरेको छैन । भिजिटिङ कार्ड र नेम प्लेट बनाउने खर्च गत आर्थिक वर्षमा निकासा भए पनि अहिलेसम्म त्यस्ता सामग्री तयार भएको छैन ।

दूतावास कर्मचारीसँग त्यहाँका नेपाली र अन्यले भिजिटिङ कार्ड माग्दा ‘कार्ड बन्ने प्रक्रियामा रहेकाले अहिले उपलब्ध गराउन सकिएन’ भन्ने जवाफ दिन्छन् ।

कार्ड र नेमप्लेट तयार गर्ने खर्च गत वर्ष नै निकासा हुँदा पनि कार्यालयमा आउन किन ढिलासुस्ती भन्ने जिज्ञासामा दूतावासका प्रथम सेक्रेटरी हरिहरकान्त पौडेल आश्चर्य मान्दै भन्नुहुन्छ– ‘हो र, खै मलाई त यसबारेमा केही जानकारी नै भएन ।’ तर त्यस्ता सामग्रीको बिल फरक मितिमा निकासा भइसकेको छ । स्पेनको नियमअनुसार २ सय ४० युरोसम्मका समान खरिद गर्र्दा भ्याट फिर्ता हुने प्रावधान भए तापनि राजदूत भरत रायमाझीले त्यस्तो सुविधा प्रयोग नगरी दूतावासको आर्थिक भार बढाएको, मनोमानी ढंगबाट काम गरेको देखिएको छ ।

‘स्पेनिस कानुनले दिएको सुविधा राजदूतले उपयोग गरे वा उल्लंघन गरे उनै जानून्, तर सो दूतावासको कार्यशैली सन्तोषजनक नभएको गुनासो प्राप्त भएको छ’ –परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रसँग भने । ती अधिकारीले प्रस्ट्याउँदै भने– ‘पक्कै पनि केही न केही गडबढी भएर मन्त्रालयमा खबर आएको हुनुपर्छ, सञ्चारमाध्यममा खवर आउन थालेपछि दूतावासलाई स्पष्टीकरण सोधेको हो ।’

परराष्ट्रले गत जेठ दोस्रो साता विदेशस्थित सबै नेपाली नियोगलाई पत्राचार गर्दैै कार्यसम्पादन विवरण पठाउन पत्राचार गरेको थियो तर स्पेनले प्रष्ट जवाफ पठाउन सकेको थिएन । प्रस्ट जवाफ नआएपछि परराष्ट्रले पुनः प्रगति विवरण ३ दिनभित्र पठाउन ध्यानाकर्षण गराउँदै गत साउन २७ गते दूतावासलाई पत्राचार गरेको थियो । पटक–पटकको ताकेतापछि गत भदौ २२ गते दूतावासले जवाफ पठाए पनि जवाफ चित्तबुझ्दो नभएको मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार म्याड्रिडस्थित दूतावासले त्यहाँ बंगाली र पाकिस्तानी नागरिकका पसलबाट सामग्री खरिद गर्दै आएको छ । कसरी हुन्छ सस्तो दाममा सामान उपलब्ध गराउन दूतावास कर्मचारीले पसलेसँग धेरै पटक बार्गेनिङ गर्दै भ्याट छल्न मिल्ने प्रकृतिको बिल बनाउन दबाब दिने गरेपछि पसलेले पनि सोही प्रकृतिका बिल उपलब्ध गराउँदै आएका छन् । हाल दूतावासले प्रयोग गर्दै आएको भवन भाडामा लिने क्रममा दूतावासका तृतीय सचिव भोजराज भट्टराई म्याड्रिडमै उपस्थित भए पनि घरभाडा सम्झौताको समयमा आफूलाई सामेल नगराइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

स्रोत भन्छ– ‘घर बहालमा लिँदा र आवश्यक सामग्री र सवारी खरिद प्रक्रिया मनोमानी ढंगले गर्दा आर्थिक अनियमितता बढेको छ, दूतावासका लागि लिइएको भवन सिधै घरधनीबाट लिएकाले घरभाडामा अनियमितता भएको छ ।’ यसअघि गत भदौ २७ गते पनि नेपाल समाचारपत्रमा दूतावासको सवारी खरिद र आर्थिक अनियमिताबारेको खवर सार्वजनिक भएको थियो । तेस्रो पक्षको बिमाविना दूतावास प्रयोजनका लागि किया ब्रान्डका दुईवटा र राजदूत रायमाझीका लागि मर्सिडिज कम्पनीको गाडी खरिद गरिएको छ ।

गाडी बिमा नभएकाले ती सवारी गुडाउन समस्या भएको बताइएको छ । दू्तावासमा आर्थिक अनियमिता चुलिएपछि गत साउन तेस्रो साता स्पेनमा बस्दै आएका नेपालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि निवेदन दिएका छन् । यसबारेमा जिज्ञासा राख्दा अख्तियारका सह–सचिव एवं प्रवक्ता रामेश्वर दंगालले प्रारम्भिक अध्ययन भइरहेको बताउनुभयो ।यो समाचार आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement