थेसिस चोरीमा प्राध्यापकहरूकै संलग्नता


काठमाडौं – स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ। क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो।

बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरानी र खोजतलास हुन सकेको छैन। उल्टो यस्तो अवैध कार्यमा केही प्राध्यापककै संलग्नता समेत रहने गरेको विद्यार्थीको आरोप छ।

स्रोतका अनुसार मुख्यतः विश्वविद्यालय नजिक भएका स्टेसनरीसँग प्राध्यापक, सम्बन्धित लेक्चरहरूको कनेक्सन हुने र रकमको आधारमा अंक चढ्ने गरेको पाइएको छ। रोल्पा थवाङ घर भएका नवीन बुढा हाल नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत छन्।

उनले अनुसन्धानमूलक सामग्री पुस्तक पसलबाटै किने। ‘मलाई जसरी भए पनि रिसर्च बुझाउनुपर्नेछ। त्यही भएर विश्वभाषा क्याम्पसअगाडिको एक पुस्तक पसलबाट प्रतिपेपर ५० रुपैयाँका दरले ३ सय रुपैयाँमा किनें,’ उनले भने। त्रिभुवन विश्वविद्यालयबाट एमबीएसको लिखित परीक्षा भर्खरै सकेका प्रविन ओझाले भने, ‘हतार हुन्छ। त्यही भएर भएको थेसिसलाई तोडमोड गरेर बुझाएँ।’ विद्यार्थीहरूले उत्तीर्ण हुन थेसिसका लागि पाँचदेखि २० हजार रुपैयाँसम्म खर्च गर्दै आएका छन्।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी नेता मदन चापागाईंका अनुसार थेसिस सिर्जनात्मक हुनुपर्छ भनेर पटक–पटक कुरा उठाए पनि लागू हुन सकेको छैन। उनले भने, ‘विश्वविद्यालयमा बुझाइने अधिकांश थेसिसको गुदी कुरा सबैको उही हुन्छ । नाम, थर र सिम्बोल नम्बर मात्रै परिवर्तन भएको देखिन्।’

विद्यार्थीहरूलाई बिक्रेताहरूले उपलब्ध गराएको अनुसन्धानमूलक सामग्री जस्ताको तस्तै सम्बन्धित प्राध्यापकलाई पेस गर्न मिल्ने सुझाव दिन्छन्। स्नातकोत्तर तहमा गणित विषयको परीक्षा उत्तीर्ण गरेका नवीन बस्नेतले भने, ‘मलाई पुस्तक पसलको साहुजीले अनुसन्धानमूलक सामग्रीमा आफ्नो नाम, सिम्बोल नम्बर र क्याम्पस फेरेर जस्ताको तस्तै प्राध्यापकलाई बुझाउँदा हुन्छ भन्नुभयो। के गर्नु बुझाउनुपर्ने समय आइहाल्यो।’ यो खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement