ठीक भइसकेका बिरामीको रगतमा ’एन्टिबडी’ परीक्षण गर्न अमेरिकी अनुमति


एजेन्सी – हाल विश्वमा कोरोनाभाइरसको संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि ५० हजार नाघिसकेको छ । यसले विश्वका सबैजसो देशलाई आफ्नो चपेटमा पारेको छ ।

यसका उपचारका लागि विभिन्न प्रयास हुदै आएका छन् । तर पनि सफलता मिलेकोक छैन । यसैबीच अमेरिकाले निको भइसकेका बिरामीको शरीरमा विकास हुने ‘एन्टिबडी’ परीक्षण सुरू गरेको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभाग ‘फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन’ ले बिहीबार यस्तो परीक्षणको अनुमति दिएको हो ।
चिकित्सकका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ । फेरी अर्को पटक त्यही भाइरसले आक्रमण गर्यो भने उसको प्रतिरोधात्मक शक्तिले भाइरसलाई परास्त गर्न सक्छ ।

चिकित्सकहरुले त्यस्ता व्यक्तिको रगत संकलन गरी भाइरसको जीनसँग मिल्दोजुल्दो ‘एन्डिबडी’ परीक्षण गर्नेछन् । यसले ती व्यक्तिमा भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता विकास भएको छ कि छैन थाहा हुनेछ ।

विभिन्न कारणले गर्दा यो परीक्षणलाई महत्वपूर्ण मानिएको छ । पहिलो, हालसम्म हामीलाई कोरोना भाइरस कुन स्तरसम्म फैलिएको छ भन्ने यकिन जानकारी छैन । जो व्यक्ति गम्भीर बिरामी भएर अस्पताल आए वा जसको औपचारिक परीक्षण भयो, उनीहरू मात्र संक्रमितको गणनामा परे ।

कतिपयमा संक्रमण भए पनि लक्षण नदेखिन सक्छ । वा, केही समय सामान्य बिरामी परेर आफैं निको हुन्छन् । त्यस्ता व्यक्ति गणनामा पर्दैनन् ।

तर एन्टिबडी परीक्षणबाट भाइरस संक्रमण कुन हदसम्म फैलिएको रहेछ भनेर आकलन गर्न सकिने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका सरुवारोग विशेषज्ञ डा। कार्ल बर्गस्ट्रोम बताउछन् । यसले संक्रमण र मृत्युदरको वास्तविक तथ्यांक आउँछ ।

दोस्रो, कुनै लक्षण नदेखाई संक्रमित भइसकेका व्यक्ति पनि भाइरससँग डराएर बसेका हुन सक्छन् । त्यस्ता व्यक्तिलाई फेरि यस्तै खालको भाइरसले आक्रमण गर्न सक्ने जोखिम कम हुन्छ । संक्रमण भइहाले पनि त्यति गम्भीर असर नदेखिन सक्छ ।

यो परीक्षणबाट जुन व्यक्तिमा एन्डिबडी फेला पर्यो, उनीहरू भविष्यमा सुरक्षित ढंगले आफ्नो घरबाट निस्केर कामकाजमा जान सक्छन् ।

चीन, सिंगापुर लगायत देशमा यस किसिमको परीक्षण हुँदै आएको छ । चीनको अनुभव हेर्ने हो भने, भाइरस संक्रमणबाट निको भइसकेका अधिकांश व्यक्तिमा एन्टिबडीको मात्रा उच्च पाइएको छ । निको भएका धेरै बिरामीको रगतमा एक महिनाभित्र राम्रो एन्डिबडी विकास हुने चिनियाँ अध्ययनले देखाएको छ ।

यो अनुसन्धानमा खासगरी दुईवटा एन्टिबडी परीक्षण गरिन्छ । पहिलो, इम्युनोग्लोबुलिन एम, जुन हाम्रो शरीरले संक्रमण भएको केही दिनपछि विकास गर्छ । अर्को, इम्युनोग्लोबुलिन जी, जसले भाइरस आक्रमणसँग लड्न मद्दत गर्छ ।

यो परीक्षणले १५ मिनेटमै नतिजा देखाउँछ । तर, एन्टिबडी छ भन्दैमा कोरोनासँग लड्ने प्रतिरोधात्मक क्षमता विकास भइसक्यो भनी सुनिश्चित नहुने वैज्ञानिकहरुको राय छ ।

न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका भाइरल विशेषज्ञ डा. एन्जेला रसमुसिनका अनुसार यस्तो परीक्षणबाट एन्टिबडी विकास भए नभएको छुट्टिए पनि त्यसले भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता देखाउँछ कि देखाउँदैन यकिन हुन्न ।

कतिपय संक्रमित व्यक्तिमा बलियो प्रतिरोधात्मक क्षमता विकास भएको हुन्छ भने कतिपयमा हुँदैन । प्रतिरोधात्मक क्षमताले कति समय काम गर्छ भन्ने पनि वैज्ञानिकहरूलाई अहिलेसम्म थाहा छैन ।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले निको भइसकेका व्यक्तिको एन्टिबडीलाई कोरोनासँग जुधिरहेका बिरामीको रगतमा हालेर उपचार गर्न सकिन्छ कि सकिन्न भनेर परीक्षण गर्न यसअघि नै अनुमति दिइसकेको छ ।

न्यूयोर्कको म्यानहटनस्थित माउन्ट सिनाई अस्पतालले यसको बारेमा परीक्षण गरिरहेको छ । उक्त अस्पतालले मध्यम खालको लक्षण देखिएका र सास फेर्न अप्ठ्यारो बिरामीमा परीक्षण गर्न लागेको त्यहाँका अध्यक्ष तथा प्रमुख कार्यकारी डा. डेभिड एल रिच बताउछन् । यसमा भर्खर लक्षण देखिएका तथा जटिल अवस्थामा पुगिसकेका बिरामीलाई परीक्षणमा सामेल गराइने छैन ।

न्यूयोर्कका अस्पतालहरूले निको भएर गइसकेका व्यक्तिलाई अनुसन्धानमा सरिक हुन आह्वान गरेका छन् । यसमा दुई हजारभन्दा बढीको प्रतिक्रिया आइसकेको छ ।

यसको निम्ति पाँचवटा मापदण्ड तोकिएका छन् । पहिलो, ती व्यक्तिहरू बिरामी हुँदा कोरोना भाइरस ‘पोजिटिभ’ हुनुपर्छ । दोस्रो, उनीहरू भाइरस संक्रमणबाट निको भइसकेको हुनुपर्छ । तेस्रो, १४ दिन कुनै कसिमको लक्षण देखिएको हुनुहुँदैन । चौथो, अहिले गरिने कोरोना परीक्षणमा ‘नेगेटिभ’ नतिजा आएको हुनुपर्छ । र, पाँचौं, उनीहरूको रगतमा भाइरससँग लड्ने ‘एन्टिबडी’ को मात्रा उच्च हुनुपर्छ ।

अनुसन्धानमा छनौट हुने व्यक्तिलाई ‘प्लाज्मा’ दान गर्न रगत केन्द्रमा पठाइनेछ । यो विधि रक्तदानसँग मिल्दोजुल्दो छ । एउटै मात्र फरक भनेको, यसमा बिरामीको शरीरबाट निकालिने रगतलाई एउटा मेसिनमा पठाइन्छ, जहाँ त्यो रगतबाट ‘प्लाज्मा’ निकाल्ने काम हुन्छ । ‘प्लाज्मा’ निकालेपछि रगतको रातो र सेतो कोषिकालाई फेरि दाताकै शरीरमा फिर्ता पठाइन्छ ।

यसका लागि दाताको दुवै हातमा सुई घोपिन्छ । एउटा हातबाट रगत बाहिर तानिन्छ । त्यो रगत ‘प्लाज्मा’ संकलन गर्ने मेसिन हुँदै अर्को हातको सुईबाट बिरामीकै शरीरमा छिर्छ । सामान्यतया ६० देखि ९० मिनेटमा यो प्रक्रिया पूरा हुन्छ । एक व्यक्तिबाट संकलन गरिने ‘प्लाज्मा’ तीन जना बिरामीको उपचारलाई पर्याप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement