गर्भपतनबारे ४२ प्रतिशत महिला मात्र जानकार, कति महिलाले गराए गर्भपतन ?


काठमाण्डु – आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । ‘सुरक्षित गर्भपतनको अधिकारः मौलिक हक सुनिश्चितताको आधार’ भन्ने नाराका साथ आज सातौ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो ।

१९ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो । मुलुकी ऐनको ११ औं संशोधन मार्फत गर्भपतनले नेपालमा कानुुनी अधिकारको प्रत्याभूति पाएपछि हरेक वर्ष असोज १० गते दिवस मनाउन थालिएको हो ।

सहज, सर्वशुलभ, पहुँचयोग्य र प्रभावकारी बनाउन नेपाल सरकारले टेलिकम्यूनिकेसन, हटलाइन, स्वास्थ्यकर्मीद्वारा घरदैलो तथा महिला आफैले पनि नजिकको स्विकृत प्राप्त सेवा पदायक मार्फत सेवा लिन सक्ने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विबेक कुमार लालले जानकारी दिए ।

सुरक्षित गर्वपतनका लागि सरकारले बिभिन्न संघ संस्थासंगको सहकार्यमा ४ हजारको हाराहारीमा चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गरी करिब १५ सय स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवालाई सञ्चालनमा ल्याएको छ ।

गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष वितिसक्दा पनि केवल ४२ प्रतिशत महिलाहरुलाई मात्र यसको बारेमा जानकारी रहेको अध्ययनहरुले देखाएको छ । कानुनी मान्यता दिएपछि १३ लाख भन्दा बढि महिलाले सेवा लिएको डा.लालले जानकारी दिए ।

महिलाले नचाहेको १२ हप्ता सम्मका र भ्रुणमा खराबी वा बाँच्न नसक्ने लगाएत वंशाणुगत रोग आउने सम्भावना भएमा, बलत्कार तथा हाडनाता करणीका १८ हप्ता सम्मका गर्भपतन गराउन पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा व्यवस्था छ ।

सुरक्षित गर्भपतन सेवाले महिलाको मौलिक हकलाई सुनिश्चित मात्र नगरेर मातृमुत्यु दर तथा असुरक्षित गर्भपतन पछि हुने गम्भिर प्रकृतिका स्वास्थ्य समस्याहरुमा उल्लेख्य कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्ने डा. लालले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement