सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढे उपसभामुख नहुँदा अध्यक्षता कसले गर्छ ?


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव टेबुल नहुनुको कारक सभामुख अग्निप्रसाद सापकोटा हुन् ।

तत्कालीन नेकपामा भागबन्डा हुँदा माओवादीबाट सापकोटा सभामुख भए । यौन दुव्र्यवहारमा मुछिएपछि सभामुख कृष्णबहादुर महरा निलम्बन हुँदा सापकोटालाई सभामुख पद चिट्ठा परेको हो । महराले पनि एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्न अस्वीकार गरेको ओलीले बताउँदै आएका छन् ।

ओली-देउवा जसरी पनि संसदबाट एमसीसी अनुमोदन गर्नुपर्ने पक्षधर हुन् । देउवाले एमसीसी टेबुल गर्ने वातावरण बनाउन सभामुख सापकोटासँग कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूलाई कुराकानी गराइसकेका छन् । तर, सभामुख प्रस्ताव टेबुल गराउन सकारात्मक नभएको विवरण आइरहेका छन् । यही बीचमा फेरि सभामुखलाई महाअभियोग लगाएर हटाउन सकिने विकल्पको चर्चा पनि चल्न थालेको छ ।

सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढे उपसभामुख नभएको अवस्थामा संसद् बैठकको अध्यक्षता संसद्को ज्येष्ठ सदस्यले गर्न सक्ने संविधानविद् डा.भीमार्जुन आचार्य बताउँछन् ।

वरिष्ठ अधिवक्ता महेश नेपालको पनि तर्क पनि आचार्यको जस्तै छ । उनी पनि उपसभामुख नभएको बेला सभामुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भए ज्येष्ठ सदस्यले भने संसद् बैठकको अध्यक्षता गर्ने बताउँछन् ।

६ माघ २०७६ मा उपसभामुख पदबाट डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । त्यसयता संसदमा उपसभामुख छैनन् । उपसभामुख नभएको अवस्थामा सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढे अध्यक्षता गर्ने कोही पनि नहुने माओवादी नेता लीलामणि पोखरेल बताउँछन् । ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने भनेको सभामुख चयन नहुँदा मात्रै भएको उनको तर्क छ ।

सभामुख सापकोटाविरुद्ध १४ जना सांसदलाई कारबाही गरेको सूचना समयमा टाँस नगरेर पदीय आचरणविपरीतको काम गरेको एमालेको आरोप छ ।

कांग्रेसले पनि एमसीसीसम्बन्धी प्रस्ताव टेबुल नगरे पदीय आचरणविपरीतको काम गरेको आरोप लगाउने संकेत गर्दै आएको छ । सभामुखलाई पदीय आचरण पूरा नगरेको आरोपमा महाअभियोग लगाउन मिल्ने प्रावधान संविधानमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement