नेपाली बजारमा भारतीय अखाद्य खाने तेलको बिगबिगी, सबै निकाय मौन


– उदय सिंह श्रेष्ठ

नेपालगन्ज – बाँके जिल्ला लगायत आसपासका जिल्लाहरुमा भारतीय अखाद्य खाने तेलको बिगबिगी हुँदा पनि सरोकारवाला निकाय सबै अहिलेसम्म मौन बसेको देखिएको छ ।

नेपालगन्ज नजिकको बोर्डर भारतको रुपैडिहा बजारमा बिक्री वितरणमा राखिएको अखाद्य मानिएको खाने तेलको विषयमा रुपैडिहा निवासी अधिकांश बुद्धिजीवीहरुले नेपालमा उत्पादित खाने तेल नै प्रयोग गर्ने र स्थानिय बजारमा पाउने खाने तेलमा मिलावट बढी हुने भएकोले प्रयोगमा नल्याउने बताएपछि अहिले सबैको ध्यानाकर्षण भएको छ ।

बोर्डरको रुपैडिहा बजारमा पाइने चक्र, तुलसी लगायतका तोरीका तेलहरुमा अत्याधिक मिलावट हुनुको साथै मुटु सम्बन्धी रोग लाग्ने भएको कुरा बाहिर आएपनि सरोकारवाला निकायले अहिलेसम्म अनुगमन गर्नुको साथै कुनै चेकजाँच समेत नगरिएको भेटिएको छ ।

रुपैडिहा बिक्री वितरण गर्ने त्यस्ता खाने तेलको अहिलेसम्म नेपालगन्ज भन्सार कार्यालयले एक थोपाको पनि भन्सार राजस्व लिएको छैन भने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला भन्नुहुन्छ–‘व्यवहारिक रुपले सामान्यतया भन्सार राजस्व लिएको छैन ।’

भारत लगायत अन्य मुलुकबाट खाने योग्य वस्तुको लागि खान योग्य छ वा छैन भन्ने टेस्ट भएपछि मात्र भन्सार राजस्व लिनु पर्नेको साथै आयात गर्न अनुमति दिन पर्नेमा अहिलेसम्म त्यस्तो नगरिएको भेटिएको छ ।

भारतबाट आयात भइरहेको अखाद्य खाने तेलको विषयमा खाद्य गुणस्तर कार्यालयले भने अहिलेसम्म कुनै चेकजाँच गरेको देखिएको छैन भने कार्यालय भन्छ, ‘भन्सार कार्यालयबाट चेकजाँचको लागि आएपछि मात्र खान योग्य भएको नभएको भन्दा पनि नेपाल सरकारको मापदण्ड अनुसार छ वा छैन भनी टेस्ट गर्छौ ।’

रुपैडिहाबाट आयात भइरहेको त्यस्ता अखाद्य खाने तेलको विषयमा कोही कसैलाई शंका लागी चेकजाँच गर्न सकिने व्यवस्था हुनुको साथै तोरीको तेलको टेस्टको लागि १ हजार १ सय राजस्व बुझाउनु पर्ने प्रावधान रहेको बताइएको छ ।

स्थानिय बजारमा भारतीय अखाद्य खाने तेलको विषयमा प्रमुख जिल्ला अधिकारी मदन भुजेल निकै नै चिन्ता व्यक्त गर्दै भन्नुहुन्छ–‘यो निकै नै गम्भिर विषय हो । हामी सबै उपभोक्ताहरुले बजारमा विभिन्न प्रकारका खानेकुरा खान्छौं । त्यस्ता तेल प्रयोग भएको रहेछ भने हामी सबै रोगी हुन सक्छौं । यस विषयमा गहिरो अनुसन्धानका साथै अनुमगनलाई तीब्र बनाउँछु । त्यस्ता अखाद्य खाने तेललाई पूर्ण प्रतिबन्ध लगाउँछु ।’

बाँके जिल्ला भित्र मात्रै खोज तलास गर्ने हो भने करिब १० लाख बढी त्यस्ता अखाद्य खाने तेल भेटाउन सकिने कुरा स्थानिय एक व्यापारीले बताए । ती व्यापारीका अनुसार प्रति लिटर क्यारिंग गर्नेले रु। १० को दरले लिने गरेको बताइएको छ । दैनिक हजारौं लिटर नेपालगन्ज भन्सार कार्यालयको नाका हुँदै त्यस्ता अखाद्य खाने तेल भित्री रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement