यस्ता छन् अल्जाइमर्सका लक्षणहरु र बच्ने उपाय


काठमाण्डु – आज सेप्टेम्वर २१ अर्थात विश्व अल्जाइमर्स दिवस ‘विस्मृतिलाई चिनौँ, अल्जाइमर्सलाई जानौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

स्नायु प्रणालीमा लाग्ने यो रोगका कारण मानिसको स्मरण शक्ति कमजोर बन्दै जान्छ । यो रोगलाई बिर्सिने रोग समेत भन्ने गरिन्छ । उमेर बढ्दै जाँदा यो रोगको जोखिमपनि बढ्दै जाने चिकित्सकहरु बताउछन् ।

यी समस्याका कारण मानिसको दैनिक दिनचर्यामा नै बाधा पुग्ने हुन्छ । जति उमेर बढ्दै गयो यो समस्यामा सामान्य भन्दा बढी नै बिर्सिने समस्या बढ्ने हुन्छ । अरुमा भर पर्दै जाने अवस्था हुन्छ । नेपालमा यो समस्या कतिमा छ भन्ने एकिन तथ्यांक त छैन । तर, यो समस्या धेरैमा रहेको अनुमान लगाउन सकिन्छ ।

अल्पविकसित राष्ट्रहरुमा अल्जाइमर्सको जोखिम बढि रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्वमा ४७ मिलियन मानिसहरु अल्जाइमर डिमेन्सियाबाट ग्रस्त छन्। हरेक २० बर्ष यसको संख्या दोब्बर हुन्छ । सन् २०१५ को तथ्याङ् अनसुार नेपालमा पनि ७८ हजार मानिसहरुमा बिर्सिने समस्या रहेको जनाएको छ। र यसको संख्या सन् २०३० मा दोब्बर बढ्ने अनुमान गरिएको छ ।

उपचारका लागि स्वास्थ्य संस्थामा आइपुगेका बिरामीहरुमा अधिकांशमा बिर्सिने समस्या नै प्रमुख लक्षण देखिएको छ। यो सँगसँगै बृद्धबृद्धाहरुमा अल्जाइमर देखिन थालेसंगै उनीहरुको व्यक्तित्वमा परिर्वतन आउने, लुगा लगाउन बिर्सिने, के खाँदै छु वा खाना खाएको केही समयपछि खाना खाएको कुरा भुल्ने, के काम गर्दैछु भन्ने पनि याद नहुने, साना साना कुरामा रिसाउने झगडा गर्ने, झर्किने जस्ता समस्या बढी देखिन्छ।

यसका लक्षणहरू :

यसका लक्षणलाई मुख्यतया तीन चरणमा विभाजन गरिएको छ । चरण अनुसार यसका फरकफरक लक्षण देखिने बताइएको छ ।

क) माइल्ड स्टेज –कम कडा अवस्था )

– स्मरण शक्तिमा क्रमिक रुपमा गिरावट देखिँदै जानु।

– पूर्वजानकारी भएका व्यक्ति/नातागोता एवं ठाउँहरूलाई चिन्नमा समस्या हुनु।

– साविकका कामहरू गर्न आवश्यकता भन्दा धेरै समय लिनु।

– गरिरहेको कारोबार÷व्यवसाय गर्नमा समस्या हुनु।

– क्रमिक रुपमा गलत किसिमका निर्णयहरु गर्दै जानु।

– व्यवहार÷व्यक्तित्वमा क्रमिक रुपमा परिवर्तन हुँदै जानु।

(ख) अलि कडा अवस्था (मोडरेट स्टेज):

– माथि उल्लेखित समस्याहरू, क्रमिक रुपमा बढ्दै जानु।

– परिवारभित्रैका सदस्यलाई पनि चिन्नमा समस्या हुनु।

– पढाइ/लेखाइ/गणितमा समस्या देखिँदै जानु।

– नयाँ विषय तथा कार्यहरू सिक्नमा समस्या हुनु।

– साविकको घरको बाटो बिराउनु/हराउनु।

– एउटै कुरा÷काम अनावश्यक रुपमा दोहो¥याइरहनु।

– अधिक÷अनावश्यक शंका गर्नु; नभएको कुरा देख्नु/सुन्नु; अधिक डराउनु; अधिक आवेशमा आउनु आदि।

– सामाजिक रुपमा आपत्तिजनक काम/व्यवहार/भाषा प्रयोग गर्नु।

(ग) अति कडा अवस्था (सिभियर स्टेज)

– माथि उल्लेखित लक्षणहरू क्रमिक रुपले अरु बल्झिदै जानु।

– खाना खान/चपाउन/निल्नमा क्रमिक रुपमा समस्या आई सर्केर हुने न्युमोनिया (एस्पिरेसन न्युमोनिया) बाट बिरामी बारम्बार पीडित भइरहनु।

– तौल घट्दै जानु; आलस्य र निद्रा बढ्दै जानु।

– दिसा÷पिसाबमा नियन्त्रण हराउँदै जानु; कपडा÷बिस्तारामै हुनु।

– बोल्नमा पनि समस्या बढ्दै गई अस्पष्ट रुपमा आवाज निकाल्नु।

– विस्तारामा सीमित भई, सो सम्बन्धी जटिलताहरू बढ्दै जानु।

रोकथाम तथा व्यस्थापन

सबैभन्दा महत्वपूर्ण कुरा त हामीले अपनाउने जीवनशैली र खानपानमा विशेष ख्याल गर्नुपर्छ । अल्जाइमर्स भइसकेपछि यो निको होस् भन्ने ठ्याक्कै औषधि नभएकाले सुरु देखि नै ख्याल गर्नुपर्ने हुन्छ। सामान्य लक्षण देखियो भने यसलाई केही पर धकेल्न सकिन्छ । तर, यो रोग आउने सम्भावनालाई कम गर्न हामीले हाम्रो जीवनशैली र खानपानमा नै विशेष ख्याल गर्नुपर्छ ।

नियमित व्यायाम, स्वस्थ खानेकुरा सेवन गर्ने र मस्तिष्कलाई सक्रिय बनाउनु नै पर्छ। शरिरिक अभ्यास त मानिसले मर्निङ वाक, व्यायाम वा अन्य विभिन्न उपाय अपनाएर गरिरहेका हुन्छन्। मस्तिष्कको सक्रियताका लागि चेस खेल्ने, बाघ चाल तथा मस्तिष्कलाई सक्रिय बनाउने खालको खेलमा ध्यान दिन सकिन्छ । भिटामिन ’बी’ नियमित सेवन गरे रोगबाट बच्न सकिने विज्ञहरू बताउँछन् । यस्तै समयमै उच्च रक्तचापको उपचार, शरीरको तौल नियन्त्रण, नियमित शारीरिक व्यायाम गर्नु यो रोगबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement