पूर्णचन्द्रको कमाण्ड संरचना फेल : प्रधानसेनापति शर्माले ब्युंताए सेनामा आठ पृतना


काठमाण्डु – नेपाली सेना पृतना संरचनामा फर्कने भएको छ । सैनिक ऐनमा कमाण्ड भन्ने शब्द नभएको र तीन जोर एक कमाण्ड संरचना लागु गर्न समेत कठिनाई भएपछि सेना पृतना संरचनामा फर्कने निर्णयमा पुगेको हो ।

तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई आवश्यकता र औचित्यका आधारमा भन्दै कमाण्ड संरचनामा लिने निर्णय गरेका थिए । कमाण्ड संरचना आफैमा राम्रो भएपनि लागु गर्न कठिनाई भएको सेनाको दावी छ । सेनामा १ साउन २०७८ मा कमाण्ड संरचना लागु भएको थियो ।

सेनाले गरेको संगठनको पुर्नसंरचना २०७८ अनुसार नयां गण र गुल्मको संख्या १८ वटा थपिने र त्यसलाई चाहिने ब्यारेक घर, जग्गा र हात हतियारका लागि थप ८४ अर्ब खर्च हुने भएपछि सेनाले पुरानै संरचनामा जाने निर्णय गरेको हो । तर, सेनाले तीन जोड एक अवधारणालाई भने कायम नै राख्ने भएको छ ।

सैनिक ऐन ०६३ मा समेत चोमु, पृतना,गण र गुल्मजस्ता शब्दावली भएपनि कमाण्ड भन्ने शब्द कतै पनि उल्लेख नभएपछि व्यवहारिक कठिनाई समेत भएको सैनिक अधिकारीहरुको दावी छ ।

मन्त्रिपरिषदको २१ भदौमा बसेको बैठकले सेनाको पुरानो संरचना ब्युंताउने निर्णयलाई स्वीकृती दिइसकेको छ । जसअनुसार सेनामा आठ वटा पृतना रहने छन् । तत्काल प्रधासेनापति थापाले नदीको आधारमा पूर्वी,मध्य,पश्चिम र उपत्यका गरी चार वटा कमाण्डको अवधारणा लागु गरेका थिए । तर, हालका प्रधानसेनापति प्रभुराम शर्माले भने ०७४ कै संरचनामा संगठनलाई लिएका छन् ।

सेनामा अव पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतना रहने छन् । कमाण्ड संरचनामा गएपछि सेनाको प्रदेशसंगको समन्वयमा समस्या भइरहेको थियो । पृतना संरचनामा गएसंगै अव सेनाको व्यवहारिक कठिनाई हल हुने अपेक्षा गरिएको छ ।

‘यो कुनै प्रतिशोध सांधिएको विषय होईन,कमाण्ड संरचना दिर्घकालिन योजना र रणनीतिको हिसावले ठिक छ । तर, यो विचमा लागु गरेर हेर्दा व्यवहारिक भएन । त्यतिमात्र होईन संविधान र देशको संघिय संरचना अनुकुल समेत नभएकाले पुरानो संरचनामा फर्कनुपरेको हो ।’ सेनाका एक अधिकारीले काठमाण्डुपाटीसंग भने ।

सेनाले आम निर्वाचनको मुखमै पृतना संरचनालाई ब्युताएपछि त्यसले तरंग सिर्जना गरेको छ । मन्त्रिपरिषदको निर्णयपछि सेनाले कार्यान्वयनको प्रक्रिया समेत सुरु गरिसकेको छ । सेनाका कार्यरथी उपरथी सागरबहादुर थापाले मातहतमा पठाएको पत्रमा नेपाली सेनाको परिचालन, कार्य प्रकृति र कमाण्ड कन्ट्रोल तथा नेपाल सरकारका अन्य निकायहरुसंगको समन्वयको आवश्यकतालाई मध्यनजर गरी पृतना मुख्यालयको तैनाथी तथा जनशक्ति व्यवस्थापन गर्न निर्देशन जारी गरिएको छ ।

परिपत्रमा पुर्नस्थापित पृतनाहरुलाई अनुसुचि २ (विगतमा प्रदान भईरहेको जिम्मेवारी क्षेत्र) अनुसार जिम्मेवारी तोक्ने निर्णय भएकोले पृतना, बाहिनी, गण र गुल्महरुको दरबन्दी सांगठनिक पूनर्सरचना २०७८ कार्यान्वयन पूर्वको (२०७४ अनुसार) कायम रहने उल्लेख गरिएको छ ।

तत्कालिन प्रधानसेनापति थापाले हचुवाको भरमा कमाण्ड संरचना लागु गर्न खोजेको भन्दै त्यतिबेला नै आलोचना भएको थियो । तर, थापाले जस लिन हतार हतारमा कमाण्ड संरचना लागु गरेका थिए । उनले २०८१ भित्र कमाण्ड संरचना पूर्ण कार्यान्वनयमा ल्याइसक्ने महत्वकांक्षी योजना अघि सारेका थिए ।

कमाण्ड संरचनामा सेनाको कुल दरबन्दीमा कुनै थपघट नहुने र उच्च तहको दरबन्दी संख्यामा पनि कुनै हेरफेर नहुने दावि गरिएको थियो । त्यसका साथै पृतनालाई कमाण्डमा स्तरोन्नती र संचार,मेडिकल,बन्दोबस्ती, इन्जिनियरिङजस्ता विशिष्कृत समूहरुलाई कोरको अवधारणामा र सैनिक हवाई क्षमतालाई सैनिक वायु सेवामा स्तरोन्नती गर्ने गरी थप एयर बेश खडा गर्ने र कमाण्ड र फिल्ड अस्पतालको व्यवस्था गर्ने लगायत उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement