सेनाको ४ अर्बको जहाज ३ महिनासम्म प्रयोगविहीन, किन हच्किए प्रधानसेनापति ?


काठमाडौं – नेपाली सेनाले झण्डै ४ अर्ब रुपैयाँमा खरिद गरेको सैनिक जहाज नेपाल भित्रिएको ३ महिनासम्म प्रयोगविहीन अवस्थामा थन्किएको छ । इन्डोनेसियाबाट खरिद गरिएको सीएएन २३५–२२० जहाज गत कात्तिक १६ गते काठमाडौं पुगेको थियो ।जहाज सेनाको मध्य एयर बेसको पार्किङ लटमा थन्किएको छ । ३ अर्ब ९५ करोड ५८ लाखमा खरिद गरिएको विमान चर्काे मूल्य र खरिद सम्झौता विवादमा अल्झिएको छ ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको नेतृत्वमा खरिद प्रक्रिया पूरा गरिएपनि जहाज बहालवाला प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा नेपाल आएको हो । जहाज भित्रिएपछि खरिद प्रक्रिया र जहाजको अवस्था हेर्दा झस्किएका सेनापति थापा उडान अनुमति दिन हच्किएका छन् ।

जहाज खरिदमा चर्काे मूल्य तिरेको विवाद एकातिर छ भने अर्काेतिर जहाजको ‘ल्यान्डिङ गियर’ खरिदबारे विवाद देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा १६ मिलियन डलरमा खरिद गर्न सकिने जहाज किन्न ३५ मिलियन डलर खर्च गरिएको चर्चा सेनाभित्र छ । उसैपनि सेनाको खरिद प्रक्रिया पारदर्शी नभएको गुनासो छ । जहाजलाई सञ्चालन गर्न अत्यावश्यक पर्ने ‘ल्यान्डिङ गियर’ को विषयमा सेना र बिक्रेता कम्पनीबीच विवाद देखिएको छ । जहाज बिक्रेता कम्पनीले ‘ल्यान्डिङ गियर’ छुट्टै खरिद गर्नुपर्ने अडान राखेको छ भने सेनापति थापाले ‘सम्झौतामा उल्लेख भए अनुसार गर्नू’ भनेर सम्भाररथी विभागलाई निर्देशन दिएका छन् । विचमा लामो समय कम्पनीसंग यसैको विवादको कारणले गर्दा संवाद विहिनताको अवस्था थियो ।

विभागका अनुसार खरिद सम्झौतामा ल्यान्डिङ गियरलाई ‘अनिवार्य’ भनेर उल्लेख गरिएको छ भने कम्पनीले ‘अतिरिक्त’ भनेर व्याख्या गरिरहेको छ । सम्झौतामा अनिवार्य भनेर लेखिनु ‘टाइपिङ मिस्टेक’ भएको जिकिर बिक्रेताले गरेका कारण विमान खरिद प्रक्रिया थप विवादमा परेको छ । यसअघि सेनाकै संभाररथी विभाग प्रमुख रहेका बलाध्यक्षरथी गौरव तण्डुलले जहाजमा जडान भएको भन्दा अर्को ल्यान्डिङ गियर खरिद गर्दा सेनाले नै पैसा भुक्तानी गर्नुपर्ने व्यहोराको पत्र पठाएकाले कम्पनीले त्यसलाई आधार बनाइरहेको छ । उनले ल्यान्डिङ गियरलाई एडिसनल भनेर लेखेको पत्रको कारण कम्पनीलाई सजिलो भएको छ ।

सम्झौतामा स्पष्ट लेखिएको विषयमा गलत व्याख्या भएको भन्दै सेनापति थापा असन्तुष्ट छन् । तर, उनकै पालामा सम्झौता राम्रोसंग अध्ययन नगरी जहाज र सामान प्री सिपमेण्ट के कारणले भयो भन्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण छ । उक्त जहाज नेपाल ल्याउनुअघि पाइलट, इन्जीनियर मात्र होईन सेनाको प्राड विभाग अधिकारी समेत इण्डोनेशिया गएर जहाज र प्रक्रिया ठिक छ भनिसकेको अवस्था छ । जहाजको टेस्टिङ्ग फलाईट समेत भइसकेको छ । प्रि सिपमेण्टअघि सेनाका सहायकरथी विष्णु रावत इण्डानेसिया पुगेको सैनिक स्रोतको दाबी छ । यसरी सेनापति थापा समेत यो प्रकरणमा उम्कनेसक्ने अवस्था नभएको देखिन्छ ।

खरिदमा संलग्न सेनाकै अधिकारी रोटर, इन्जीन र ल्यान्डिङ गियर अलग्गै खरिद गर्न टेण्डर गरिएको बताउंछन् । ‘जहाजको मुल्य २४ मिलियन हो बाकी ५ मिलियन जति त्यसमा लाग्ने सामानको मुल्य हो । पछि बजेट अभाव हुन्छ भनेर बजेट भएको बेला अतिरिक्त सामान पनि खरिद गरिएको हो ।’ सेनाका एक अधिकारीले भने । उनले त्यसमा अनियमितता नभएको बताए ।

बिक्रेता कम्पनीले ‘ल्यान्डिङ गियर’ छुट्टै खरिद गरेर जहाज सञ्चालन गर्न भनिरहेको छ । ‘ल्यान्डिङ गियर’ विवादबारे छलफल गर्न कम्पनीका प्रतिनिधिको टोली शुक्रबार काठमाडौं आउँदैछ । सेनाको सम्भार रथी विभाग प्रमुख उपरथी प्रभूराम शर्माले समेत जहाजको विवादमा जोखिम देखेर सञ्चालनका लागि सक्रियता देखाउन सकेका छैनन् । उनि भावी सेनापतिका दावेदार भएकाले पनि अनावश्यक विवादमा फस्न नखोजेको सेनाभित्र चर्चा छ । सेनापति थापा त झन् अर्काको गल्ती मात्र खोज्नेमा बढी केन्द्रित छन् । उनले समाधानका लागी पहल नगरेको आरोप छ ।

जहाज खरिद गर्दा सेनाको नेतृत्व सेनापति राजेन्द्र क्षेत्री, व्यवस्थापनको पाटो सम्भार रथी विभाग प्रमुख पूर्ण सिलवाल र प्राविधिक पाटो हवाइ महानिर्देशनालय प्रमुख उपरथी पाइलट सुधीर श्रेष्ठले हेरेका थिए । अझ यसमा सबैभन्दा बढी तत्कालिन सेनापति क्षेत्री र हवाई सेवा महानिर्देशनालयका प्रमुख श्रेष्ठ नै बजेटदेखी खरिद प्रक्रियासम्म संलग्न थिए । संभाररथी विभागले त अफिसिल प्रक्रिया मात्र अगाडी बढाएको हो ।
सैनिक स्रोतका अनुसार जहाज खरिदमा सेनाका अवकासप्राप्त दुई तारे जर्नेल भरतकेसरी सिंहका छोरा अजित सिंहले एजेन्टको काम गरेका थिए । क्षेत्री र सिंहको सल्लाहमा नै जहाज खरिदको प्रक्रिया अघि बढेको हो ।
झण्डै ४ अर्बको जहाज थन्किएको अवस्थामा बहालवाला सेनापति थापा अन्योलमा देखिएका छन्, खरिद प्रक्रियामाथि छानबिन गरेर कारवाही गर्ने कि जोखिम मोलेरै भएपनि जहाज सञ्चालन गर्ने ? सैनिक नेतृत्वको अन्योलले जहाज प्रयोगविहीन भएको छ ।

तत्कालिन प्रधानसेनापति क्षेत्रीको पालामा खरिद र निर्माणमा अनियमितता भएकाले पनि थापा अफ्ठेरोमा परेका हुन् । क्षेत्रीको पालामा सेनाको १० वर्षे योजनाअन्र्तगत १ थान फ्रेन्च इक्वइरल हेलिकप्टर,१ थान अमेरिकन बेल, २ इटालिन अगुस्टा, ७ करोड मुल्य पर्ने २ अमेरिकन साना हेलिकोप्टर खरिद गरिएको थियो । इण्डोनेशियन जहाज पनि उनकै पालामा खरिद गर्ने निर्णय भएपनि जहाज भने थापाको पालामा नेपाल पुगेको थियो ।
सैनिक बन्दोबस्तीका सामानको ढुवानी, भीभीआईपी\भीआईपीको उडान, प्राकृतिक विपत्मा उद्धार र सैन्य तालिममा प्रयोग गर्न खरिद गरिएको जहाजमा ६५ यात्रुसम्म बोक्ने क्षमता छ ।

जहाज सञ्चालनमा आउन भइरहेको ढिलाइसँगै खरिद प्रक्रियाको छानबिनमा अगाडि बढेमा पुरानो सैनिक नेतृत्व समेत तानिने संकेत देखिएको छ । तत्कालिन हवाई महानिर्देशनालयका प्रमुख उपरथी श्रेष्ठमाथी योलगायत अन्य खरिदको विषयमा सेनाले छानविन गरिरहेको छ । तर, अवकासप्राप्त क्षेत्रीमाथी भने सैनिक नेतृत्वको सदभाव देखिएको छ । यो जहाजको हकमा पनि कसैले पनि पहल नगरेकै कारण कम्पनी र सेनाको विचमा संवाद बन्द भएको छ । कम्पनीका प्रतिनिधीहरुसंग भेट्न सेनाको संभार विभागका अधिकारी हिचकिचाई रहेका छन् ।

आर्थिक अनियमितता गरेको आशंका भएको यो जहाजमा सेनापति थापा सकरात्मक नबनेपछि सेनामा अन्यौलता भएको हो । उनले यसको छिनोफानो गर्न पनि पहल नगरेको र यसमा संलग्नलाई कार्वाही गर्न पनि निर्णय नगरेकोले समस्या भएको बताईन्छ । सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डे भने यसको समाधान चांडै हुने बताउंछन् । उनले कम्पनी र सेनाको सम्बन्धित निकायबीच छलफल चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement