नयाँ प्रधान सेनापतिबाट सेनामा सुधारको अपेक्षा कति ? 


नेपाली सेनाका प्रधानसेनापतिको तीन वर्षे कार्यकालवारे एउटा भनाई छ, ‘पहिलो बर्ष गरम, दोस्रो बर्ष नरम र तेस्रो अर्थात कार्यकाल सकिनै लाग्दा अन्तिम बर्ष वेसरम’ । 

सुन्दा नराम्रो तर यर्थात टिप्पणी हो यो । कार्यकालको शुरुवातमा ‘क्रान्तिकारी’ कार्यक्रम–योजना ल्याउने कोषिश गरेपनि नेपाली सेनाका प्रधान सेनापति अवकासमा जाँदा विवादित छवि लिएर घर जाने गरेको उदाहरण छन् । 

धेरै पछाडि जानु पनि पर्दैन । यसअघिका प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुरुमा राम्रो छवि बनाए । तर, जव उनी अवकास हुँदै थिए, त्यतिबेलासम्म उनी ठेक्कापट्टा, व्यापारमा संलग्नता, सरुवा–बढुवा र संगठनका अन्य काममा परिवारका सदस्यको हस्तक्षेप अनि उद्देश्यविहीन विदेश भ्रमणको विवादको घेरामा थिए । त्यसैले उनी निकै विवादित प्रधानसेनापतिका रुपमा अवकास भए ।

४० वर्षे सैनिक जीवनमा अब्बल अधिकृतका रुपमा परिचित क्षत्रीको छवि अन्तिममा भने संगठनलाई नै बदनाम गर्ने गरी सार्वजनिक बहसको विषय बन्न पुग्यो । 

गत भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका पूर्णचन्द्र थापाले शुरुमै सेनामा सुधार गर्ने घोषणा मात्र गरेका छैनन्, सेनामा हस्तक्षेप स्वीकार नगर्ने राजनीतिक नेतृत्वलाई सन्देश समेत दिएका छन् । उनले कार्यकालको शुरुवातमै शान्ति सेनामा रहेको कोटा प्रणाली, आर्मी अफिसर क्लवको दुरुपयोग र जर्नेलका श्रीमतीलाई समेत रानी भन्नुपर्ने पद्धति अन्त्य गरेर ‘चुप’ नवस्ने सन्देश दिइसकेका छन् । त्यतिमात्र होईन सेनाभित्र हुने गरेको भ्रष्टाचारबारे आफु जानकार भएको भन्दै त्यसलाई हेर्न सैनिक अदालतलाई सक्रिय बनाउने र शुन्य सहनशीलताको नीतिलाई लागु गर्ने चेतावनी पनि प्रधानसेनापतिले सार्वजनिक रुपमै दिईसकेका छन् । नेपाली सेनाभित्र भ्रष्टाचार ‘ओपन सेक्रेट’ मुद्दा नै हो । 

उनले पनि पुर्ववर्ती प्रधानसेनापतिहरु जस्तै पहिलो कमाण्ड मार्गनिर्देशनमा आफ्नो तीन वर्षे कार्यकालको प्रारुप समेत सार्वजनिक गरेका छन् । यद्यपी उनको मार्गचित्र हुवहु लागु हुनेमा भने थुप्रै आशंका छन् । 

थापाले अरुभन्दा नयाँ काम भने गर्न चाहिँ खोजेका छन् । मार्गचित्र सार्वजनिक गर्नुपूर्व नै उनले सवै कार्यालयको लिखित र आफै सहभागी भएर व्रिफिङ लिए । सुधारका लागि के गर्न सकिन्छ भनेर उनले युनिट तहबाट लिखित सझुाव माग्ने काम समेत गरेका छन् । यसले उनी सेनामा साच्चै सुधार गर्न चाहन्छन् जस्तो पनि देखाउँछ । सैनिक अधिकारीहरु प्रधानसेनापतिले सुधारको थालनी गरे त्यसले संगठनको छवि माथि उठ्ने विश्वासमा छन् । थापाले आफ्नो कार्यकालको शुरुवातमा आशाको दिगो बालेका छन् । हालसम्म कुनै धव्वा र आक्षेप नलागेका थापाले तीन वर्षे कार्यकालमा आफुले अघि सारेका मार्गभित्र अनुसार काम गर्लान ? अहिले प्रश्न उठाउँन सकिन्छ, उत्तरका लागि केही समय पर्खनै पर्छ । 

निकै लामो इतिहास बोकेको सेना पछिल्लो समय बिवादको घेरामा परेको बेला थापा सेनाको नेतृत्वमा आएका छन् । भारतमा नेशनल डिफेन्स कोर्स (एनडीसी, नेपालमै स्टाफ कलेज गरेका तथा फोर्स कमाण्डरजस्तो प्रतिष्ठित जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेर प्रधानसेनापति बन्ने मौका पाउने थापा सेनामा ‘भाग्यमानी’ जर्नेलका रुपमा पनि चिनिन्छन् । 

कल्याणकारी, सम्भाररथी, सैनिक सहायकजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेर सेनाको प्रधानसेनापति बन्न पाउने सायदै सैनिक इतिहासमा कमै सेनापति छन् । त्यसैले सेनामा विग्रिएको प्रणालीलाई कसरी सुधार गर्ने भन्नेमा उनी आफै नै विज्ञ हुन् । उनले अघि सारेको कमाण्ड मार्गदर्शनलाई मात्र हुवहु लागु गर्न सके थापा सैनिक इतिहासकै सफल सेनापतिको रुपमा दर्ज हुनेछन् । 

कम बोल्ने, सरल स्वभाव, अरुको कुरा सुनेर मात्रै धारणा नबनाउने र कुटनितीक रुपमा पनि चतुर सेनापति थापाका सवल पक्ष हुन् । सेना भित्र उनको परिचय सबैको कुरा सुन्ने र निर्णय आफ्नो गर्ने छ । उनको यो स्वभावले उनी गलत निर्णयबाट बच्छन कि भन्ने सम्भावना छ । तर, टीमका अरु विश्वासपात्रबाट हुन सक्ने दुर्घटनाको बारे अहिले भन्न हतार हुन्छ । 

सेनापति थापाले पैसा कमाउन नै खोजेको भए उनी फोर्स कमाण्डरबाट फिर्ता हुने थिएनन् । प्रति महिना २० लाख भन्दा बढी आम्दानी हुने जागिर एक बर्षमै छोडेर थापा सैनिक नेतृत्वको सपना देखेर स्वदेश फर्केका थिए । उनी उक्त पदमा बस्न चाहेको भए एक बर्ष सुविधानजनक हिसावले वस्न सक्थे । तर, थापाले पैसा र आकर्षक जागिरभन्दा पनि सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्ने ईच्छा राखे । अनि उनी स्वदेश फर्के । त्यसमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको समेत ठूलो योगदान छ । क्षत्रीले नै उनलाई आफुपछिको उत्तराधिकारीका रुपमा ‘ग्रुम’ नगरेको भए थापालाई सेनापति बन्न कठिनै हुन्थ्यो । उनकै आग्रहमा पनि सेनापति थापा समयाअवधि अघि नै स्वदेश फर्केका थिए । उनी स्वदेश फर्केर पहलकदमी नलगेको भए सेनापतिको  लागि उनको बाटो पक्कै सहज हुने थिएन् । 

सेनामा भ्रष्टाचार बढेको र सेना व्यवसायिक चरित्रको भन्दा व्यापारमा बढी संलग्न हुने गरेको आरोप लागिरहेको बेला उनले सेनालाई सुदृढ, सबल र सक्षम संस्थाको रुपमा विकास गर्दै लैजाने योजना रहेको बताएका छन् । थापाले त्यतिमात्र होईन मातहतका निकायलाई गुण र दोषका आधारमा व्यवहार गर्ने र अवसर समेत भनसुन, निकटता र आफन्तवादका आधारमा भन्दा प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने दावी पनि गरेका छन् । 

पछिल्लो समय अन्य सुरक्षा निकाय राजनीतिकरण भएर संगठनको अवस्था एकदमै दयनीय भएको छ । सेनालाई समेत विवादमा मुछ्ने प्रयास पनि भएका छन् । सेनाको व्यवसायिकतालाई कायम राख्न आफुले कुनै कसर बाँकी नराख्ने तर संख्या घटाउने, बजेट कम गर्ने नाममा सेनामा ‘माइक्रो–म्यानेजमेण्ट’ गर्न खोजे आफुलाई सैह्य नहुने थापाको भनाई अर्थपूर्ण छ । 

नेपाली सेनामा शान्ति सेना र बढुवा पद्धति विवादमा छ । सेनामा खरिद प्रक्रिया पारदर्शी नभएको प्रश्न धेरैपटक उठेको छ । पछिल्लो समय सेनापतिका आफन्त र उनले रुचाइएका व्यापारीले एकलौटी ठेक्का पाउने र सम्झौताअनुसार काम नहुँने समस्या त छ नै । के नयाँ सेनापतिले यसमा उल्लेख्य रुपमा सुधार गर्न सक्छन् ? अहिले विश्वास मात्र गर्न सकिन्छ, ठोकुवा होइन । 

सेनाको हवाई क्षमतामा वृद्धि, शान्ति सेनामा बलियो उपस्थिति, अमेरिका, चीन र दक्षिणी छिमेकी मुलुक भारतसँगको सैन्यसम्बन्धलाई सन्तुलित रुपमा अघि बढाउनु पनि उनको अर्को चुनौती हुनेछ । थापा प्रधानसेनापति भएलगत्तै भएको विमस्टेक राष्ट्रका सेनाको अभ्यास विवादको घेरामा परिसकेको सन्र्दभमा उनले आगामी दिनमा भारतीय सेनासँग सम्बन्ध कसरी अघि बढाउंछन्, त्यो भने हेर्न लायक हुनेछ । 

सेनापतिले आफ्नो परिवारका सदस्य र नातेदारलाई समेत सेनाको आन्तरिक मामिलामा चाँसो नराख्न सन्देश दिइसकेको उनी निकट स्रोतको दावी छ । पूर्ववर्ती सेनापतिका श्रीमती र आफन्तहरुजस्तै थापाका परिवारका सदस्य संगठनको आन्तरिक मामिलामा संलग्न भएन भने यो त संगठनकै लागि पनि सुखद विषय हुनेछ । यसले थापालाई विवादमा तानिनबाटसमेत जोगाउनेछ । 

थापाको लागि सबैभन्दा चुनौतीको विषय उनको ‘टीम’ हो । सेनामा ‘टीम’ भनेको गुटका अर्थमा बुझ्ने गरेपनि सेनापतिको ‘टीम’ बलियो भएन वा स्वार्थले मात्रै घेरिएको भयो भने त्यसले सेनापतिको छवि विग्रने खतरा हुन्छ । उनले चाहिने भन्दा बढी ‘टीम’ मा भरोसा गरे वा आफ्नो ‘टीम’ र आसेपासेलाई मात्र प्राथमिकतामा राखेर अवसर बाँडे भने त्यसले उनलाई नै अफ्ठेरोमा पार्न सक्छ । त्यसैले थापाले बनाउने ‘टीम’ नै उनको सफलता र असफलताको एउटा महत्वपूर्ण कडी हुनेछ । हाल उनले सेनाको नीति, सैनिक सचिव, कल्याणकारी, सैनिक सहायकलगायतको जिम्मेवारीमा ल्याएका अधिकृत औसत क्षमता भएका मानिन्छन् । 

प्रधानसेनापति भएपछि उनले गरेको सम्वोधनमा गल्ती गर्ने जो सुकैलाई आफुले नछोड्ने चेतावानी दिएका छन् । तर, विगतमा प्रधानसेनापतिलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थमा काम गर्ने र सेनापतिलाई बदनाम गर्ने खेल यसअघि नभएका होईनन् । यसमा समेत थापाले आफ्नै आँखाले हेर्न जरुरी छ । थापाबाट सेनामा सुधारको ठूलो अपेक्षा छ । 

पछिल्लो समय सैनिक अधिकारीहरु समेत बढुवा, सरुवा र विदेश जान शक्तिकेन्द्रकोमा धाउने, आर्थिक चलखेल गर्ने काममा लागेको देखिन्छ । यसमा सेनापतिले कडा कदम चाल्नुपर्ने आवश्यकता छ ।  त्यसैले होला प्रधानसेनापति भएसँगै थापाले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी आफ्नो कुरा राखिसकेको बताइन्छ । उनले आफुले इमान्दारीतापूर्वक देश र संगठनको पक्षमा काम गर्ने भन्दै उक्त काममा सहयोग गर्न राजनीतिक नेतृत्वलाई समेत आग्रह गरेका छन् । सेनापति थापाबाट प्रजातन्त्रलाई खतरा हुने सम्भावना कमै छ । थापा बदलिदो दुनियाँसँग परिचित सैनिक अधिकारी भएकाले पनि उनी जनमतलाई सधै सम्मान गर्नुपर्छ भन्नेमा सचेत देखिन्छन् । 

उनले सेनामा जागिर खाएपछि शान्ति सेनामा सवैले जान पाउने गरी नियम मात्र बनाएका छैनन् सिधै गुनासो सुन्ने व्यवस्थासमेत मिलाएका छन् । थापाले सेनापति भएसँगै संगठनमाथी उठेका प्रश्नको समेत उत्तर दिने हिम्मत गरेका छन् । यसअघि कुनै पनि प्रधानसेनापतिले विशेष परिस्थितबाहेक अरु अवस्थामा पत्रकार सम्मेलन गरेको उदाहरण भेटिदैन् । संगठनभित्र गल्ती भएको स्वीकार गर्ने र आगामी दिनमा सुधार गरेर जाने सावर्जनिक प्रतिवद्धता प्रधानसेनापतिबाटे आउनु आफैमा राम्रो पक्ष हो । 

थापाले सेनामा संस्थागत हितलाई प्राथमकिता, कार्यप्रणालीमा समयानूकुल सुधार, भरपर्दो र सिक्दै जानेमा विश्वास गर्ने संगठनका रुपमा स्थापित गर्ने बताएका छन् 

उनले संगठनभित्र कमजोरी रहेको र त्यसलाई सुधार गर्दै लैजाने भनेर उनले आफ्नो जिम्मेवारीवारे स्पष्ट गरेका छन् । सेनापतिले आफ्ना सम्बोधन र काम कारवाहीमा संस्थागत हितलाई केन्द्रमा राख्न चाहेका छन् ।  थापाले गत असोज २५ गते पत्रकार सम्मेलनमा समेत यो कुरा प्रष्ट पारिसकेका छन् । सेनापतिले भनेका छन् ‘आफ्ना तथा माहतहतका क्षमता तथा लौह अनुशासन, बलियो चेन आफ कमाण्ड, राजनीति निरपेक्ष चरित्र, राष्ट्रिय एकताको भावना र अविच्छिन्न सांगठनिक लक्ष्यहरुद्धारा निर्देशित गर्दै नेपाली सेनालाई राष्ट्रिय एकता र आस्थाको आधार बनाउंदै लैजाने लक्ष्य लिएको छु ।’ 

सेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा सात वटा सांगठनिक लक्ष्य र १५१ कार्यहरु निर्धारण गरेका छन् । जुन महंत्वकांक्षी लक्ष्य छन् । उनले अघि सारेका लक्ष्य व्यवहारमा लागु भए सांच्चिकै सेनामा आमुल सुधार हुने अपेक्षा गर्न सकिन्छ । तर, चर्चामा आउन र बोलेको कुरा पुरा नगर्ने र स्वार्थी समूहकै सल्लाह र सुझावमा अघि बढे उनको कार्यकाल पनि ‘गरम, नरम र वेशरम’ भएर सकिने निश्चित छ । 

twitter :roshankhadka3

email:[email protected]

प्रतिक्रिया दिनुहोस
Advertisement