पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टलाई यसरी सम्झिए चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले


 

टंक कार्की

हिउँदको महिना सन् २००९ मा म चीनको कुइलिनमा थिएँ। मैले सूचना पाएँ पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट भोलि विहान चीन भ्रमणको क्रममा ग्वान्जाओ आउँदै हुनुहुन्छ।

 

 

म पेशागत कुटनीतिज्ञ थिइन। तैपनि म ठान्थें, शक्तिको पूजामा मात्रै लिप्त हुने र देशभित्रको राजनीतिक भिन्नतालाई दिमागमामा राखेर काम गर्नु कुशलता होइन।

 

 

नैतिक मूल्यको प्रदर्शन पनि हो कुटनीति। उनलाई स्वागत गर्न बेलुकै गाडीमा त्यतातिर हानिएँ।

 

बिहान मिरमिरेमा बल्ल एयरपोर्ट पुगें। नेपालबाट आएको एयर चाइनाको स्थिति बुझें। प्लेन आइसकेको रहेछ। र, चेकिङ्ग अझै भइसकेको थिएन। मैले त्यसै प्लेनको हत्त न पत्त टिकट काटें। र, चेकिङ्गतिर अघि बढें।

 

अब मेरा नजर यता उता कीर्तिनिधि विष्टको खोजीमा ब्यग्र थिए। अन्ततः एउटा कोठामा अरु दुई जना नेपाली साथीका साथमा बसिरहेको देखें।

 

फुरुङ्ग हुँदै भित्र पसें र नमस्कार गरें। आश्चर्यचकित हुँदै उनी उठे र, ‘तपार्इँ पनि यहाँ?!’ भन्दै अंगालो हाले।

 

 

‘म फगत तपाईँलाई नै स्वागत गर्न आएको’ भन्दै सारा बेलीबिस्तार लगाएँ। सायद उनलाई पत्याउन गाह्रो थियो, ‘तैपनि नियति यहीं थियो। एकै छिनमा चेकिङ्गको सूचना आयो र हामी त्यतैतिर लाग्यौ।

 

 

उनले हरियो पासपोर्ट गोजीबाट निकाले र सुरक्षा अधिकारीलाई देखाए। क्रस बनाएर उनीहरुले जाँच गरे।

 

मेरो रातो पासपोर्ट बिना झन्झट भित्र छिर्न दिए। उनको जाँच भइरहेको बेलामा संकोच सहित ट्वाल्ल परेर हेरेको देखेर होला जाँचकै क्रममा उनले भने, ‘म अब राजकीय अधिकारी होइन र हुनु पनि छैन। मैले साधारण नागरिक सरह जीउनु पर्छ। मलाई पनि रातो पासपोर्ट दिन्थे होलान् तर मैले त्यो आशक्ति देखाइन।’

 

 

उनको यो जीवन मूल्य, तामाश शून्य जीवन मेरो दिमागमा उपस्थित नेताभन्दा आनका तान भिन्न थियो।

 

मेरो उनीसँगको यो दोस्रो भेट थियो। राजदुत भएर बेजिङ जानु अघि म उनका सुझाव र सल्लाह लिन पहिलोपल्ट उनको निवासमा पुगेको थिएँ।

 

 

भेट्नु अघि मैले ‘पञ्च नेता’ को जुन शान शौकात सोचेको थिएँ सब उल्टो सामान्य, मध्यम वर्गीय परिवार।

 

 

ठ्याक्कै उस्तै भन्न मिल्ने लोकेन्द्र बहादुर चन्दको। चन्द जब बोल्छन्, लाग्छ, अर्को पक्षलाई आग्रह गरिरहेका हुन्छन, छालको आवाज भन्दा उचो स्वरले बोल्नु हुँदैन, किन भने त्यसको मोहकता भंग हुन्छ।
तर, विष्ट भिन्न थिए, जब उनी बोल्थे, आगो उकेली रहेका हुन्थे। विद्रोही उनी।

 

 

भेट्नु अघिका विष्टका म मा दुईटा प्रभाव थिए। नेपालबाट भारतीय सैनिक चेक पोष्ट हटाउन उनले स्तुत्य अग्रसारिता देखाएका थिए। ‘भारतीय विस्तारवाद’ को विरोधमा हुर्केकाहरू समेत लम्पसार परेको परिप्रेक्षमा उनको त्यो कदम लर्तरो कदापि होइन– एक स्वतन्त्र राष्ट्रको गरिमा प्रतिदानको रुपमा उनले हामीलाई छोडेर गएका छन्।

 

अर्को कुरा, २०२८ सालमा सिंह दरवारमा आगजनी हुँदा उनले नैतिकताको आधारमा राजीनामा दिए।

 

 

त्यो घटना स्मरण गर्दै उनले मलाई बताएका थिए, ‘राजाले फिर्ता लिन भन्दै भनेका थिए, ‘तिम्रो के दोष र ?!’ तर मैले मानिन्’ लालची राजनीतिक दुनियाँमा यो निस्प्रियता आफैमा लरतरो कुरो हो र ?!

 

 

विहानको ११.३० तिर हामी बेजिंग अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लियौ।ं त्यहाँ उनलाई लिन न कुनै चिनियाँ थिए न आफन्त नै। हामीसँगै निस्क्यौं र मैले उनलाई दुतावास नजिकै उनका नातिकहाँ छोडी दिए। भोलि पल्ट उनलाई सियान जानु थियो।

 

 

मैले आफै गएर एयरपोर्टसम्म छोडे र पछि लिन पनि पुगें। सियानाबाट फर्केपछि चिनियाँ जनराजनीतिक परामर्शदात्री सभा (माथिल्लो सदन) का उपाध्यक्षले उनको सम्मानमा रात्रि भोजको निम्ति निम्त्याए।

 

 

हामी दुई जना थियौं। उनले मित्रता खातिर आफ्नो मुलुकलाई विना हिचकिचावट दिल फुकार सहयोग गर्न जुन लवज र साहसका साथ कुरा गरे त्यो साहस ‘औपचारिकता’ भित्र हुनै सक्दैन।

 

 

 

राष्ट्रप्रतिको अगाध प्रेमले उनमा त्यो साहस आएको हुन सक्छ । उनको देशभक्तिप्रति मैले आफ्नो शीर निहुर्याएको छु।

 

 

आज ती प्रतिवद्ध देशभक्त हामी सबैबाट सदाका निम्ति विदा भएका छन्। यो रिक्तता आफैमा अपुरणीय हो।

 

 

भावपूर्ण श्रद्धाञ्जली कीर्तिनिधि विष्टज्यू! राष्ट्रको हितका खातिर तपाईँले लगाउनु भएको गुनलाई नेपाली र नेपाली राष्ट्रले कहिल्यै बिर्सने छैन।

 

 

शोकको यस घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!

 

 

(लेखक चीनका लागि पूर्वराजदूत हुन्)

प्रतिक्रिया दिनुहोस
Advertisement