आज आठौँ दिन महाष्टमी,महागौरी देवीको आराधना,मध्यरातमा कालरात्रि गरिँदै


काठमाडौं – नवरात्रीको आठौँ दिन आज महाअष्टमी पर्व शक्तिस्वरुपा महाकालीको पूजाआजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री गर्ने चलन रहेको छ ।

आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ । अघिल्लो दिन अर्थात् सप्तमीमा आराधना गरिने कालरात्रि देवीको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ। साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन्।

एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। मध्यरातमा दशैँघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ। महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ।

पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् । राजधानीको बसन्तपूरस्थित हनुमानढोकाको दसैँ घरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ ।

काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, सिन्धुपाल्चोकको पाल्चोकभगवती, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो हुन्छ। यस्तै बागलुङ कालिका, दोलखामा कालिञ्चोक भगवती, डडेलधुरामा उग्रतारा, सप्तरीमा छिन्नमस्ता, नवलपरासीमा मौलाकालिका, पाल्पामा तानसेन भगवती, पर्सामा गहवामाई, सर्खेतमा देउतीबज्यै, ताप्लेजुङमा पाथीभरा, सुनसरीमा दन्तकाली र बारामा गढीमाई नवरात्रका गन्तव्यस्थल हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement