डा. बाबुरामलाई राजनीतिक संकट : उपेन्द्र हाबी हुँदा जसपा निल्नु न ओकल्नु !


काठमाण्डु- नयाँ शक्ति निर्माणको विशाल अभियान परिकल्पना गरेर नेकपा माओवादी परित्याग गरेका नेता डा. बाबुराम भट्टराई यतिबेला राजनीतिक संकटबाट गुज्रिरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालमा अध्यक्ष उपेन्द्र यादवसँग टकराव परेपछि बाबुरामलाई जसपा निल्नु न ओकल्नु भएको छ ।

डा. बाबुराम न त उपेन्द्रको छायाँमा जसपामा बसिराख्न सक्छन्, न त जसपा छाडेर बाहिरिन सक्ने अवस्था छ । जुनसुकै विकल्प रोज्दा पनि बाबुरामको उज्ज्वल र स्पष्ट भविष्य देखिएको छैन ।

जसपाभित्र उपेन्द्र र बाबुरामबीच चलिरहेको विवाद हालै मन्त्रिपरिषद् हेरफेरमा आएर पटाक्षेप भएको छ । उपेन्द्रले पार्टीमा आफू बलियो हुन असन्तुष्ट पक्षलाई मन्त्री बनाएर फकाएका छन् भने बाबुराम भट्टराई हेरेको हे¥यै भएका छन् ।

अध्यक्ष उपेन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रीमा इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्र सिंहलाई नियुक्त गरेका छन् । उपेन्द्रले महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई सरकारबाट फिर्ता बोलाएका छन् ।

बाबुरामको रणनीति ‘फेल’

जसपाको शक्ति सन्तुलनमा एकपल्ट डा. बाबुराम बहुमतमा पुगेका थिए । बहुमतमा पुग्दा बाबुरामले उपेन्द्रलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउन प्रयास गरे । तर उनको प्रयास सफल हुन सकेन । ‘पार्टी कब्जा गर्ने’ बाबुरामको रणनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाभित्रकै केही असन्तुष्ट नेताहरूले सहमति जनाएनन् । बाबुरामले सके बहुमतबाट पेल्ने र नसके पार्टी नै फुटाउने रणनीति बनाएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री देउवाले नयाँ सरकार बनाएपछि उपेन्द्रले गरेको मन्त्री सिफारिसप्रति पार्टीमा असन्तुष्टि थियो । पार्टीभित्र प्रभावशाली नेता मोहम्मद इस्तियाक राईलाई उपेन्द्रले बेवास्ता गरेपछि उनी पक्षीय नेता असन्तुष्ट थिए । जसपामा खेलेर बाबुरामले शक्ति हल्याउन खोजेका थिए तर बाबुरामको रणनीति सफल हुन नपाउँदै उपेन्द्रले शक्ति फर्काएका छन् ।

अब बाबुराम भट्टराई छुट्टै तरिकाले हिँड्न खोज्दैछन् । उपेन्द्रले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका बेला बाबुराम छुट्टै भेला गर्ने तयारी गर्दैछन् । बाबुरामले ट्विटरमा लेखेका छन्, ‘देशमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता\औचित्य सिद्धिएको वा नभएको हैन, बरू बढेर गएको छ । साथै हामीले केही समययता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन । अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं । युगीन कार्यभार सजिलै\छिट्टै पूरा हुन्नन् ।’

उपेन्द्रले मन्त्री बनाइदिएपछि …
जसपाभित्र उपेन्द्र र बाबुरामको शक्ति संघर्षमा इस्तियाक राई पक्ष निर्णायक देखिएको छ । त्यसैले पार्टीको बहुमत शक्ति आफूतिर ढाल्न उपेन्द्रले राईसहित ३ जना नयाँ मन्त्री बनाएका छन् । राईकै टिमबाट उनले कृषीमन्त्रीमा मृगेन्द्र सिंह र यादवको नाम वनमन्त्रीमा सिफारिस गरेका थिए । राई बावुरामलाई साथ दिन सहमत भएपनि पार्टी विभाजन गर्ने उनको योजनामा भने सहमत नभएको स्रोत बताउंछ ।

उपेन्द्रले ३ जनालाई नयाँ मन्त्री बनाउँदा आफूपक्षीय नेताहरूलाई मन्त्रीबाट हटाएका छन् । केही महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने र त्यसपछि पार्टी विभाजन वा आफ्नो शक्ति गुम्दा नराम्रो प्रभाव पर्ने भएकाले उपेन्द्रले जोखिम मोलेर भएपनि असन्तुष्ट पक्षलाई मन्त्री बनाउँदै फकाएका छन् ।

तराई केन्द्रित राजनीतिक दलहरू पटक–पटक एकीकरण हुने र विभाजित हुने शृंखला चल्दै आएको छ । उपेन्द्र यादवसँग कुरा नमिलेरै नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल खोलेका छन् । तैपनि जसपामा फेरि विभाजनको बिउ रोपिँदैछ ।

आसन्न निर्वाचनमा उपेन्द्र यादव जसपाकै सहारामा मैदानमा होमिने देखिए पनि डा. बाबुरामको भविष्य अन्धकारमा छ । बाबुरामले न वैकल्पिक राजनीतिको रटान छाडेका छन्, न त जसपामा प्रभाव कायम राख्न सकेका छन् । माओवादीभित्र चलिरहेको पूर्व माओवादीको एकता हुनुपर्ने मतले समेत बाबुरामलाई प्रभावित गरिरहेको बताइन्छ ।

बाबुरामसामु आफ्नो समूहको राजनीतिक रक्षा सँगसँगै आसन्न चुनावमा गोरखाको निर्वाचन क्षेत्रलाई सुरक्षित गर्ने चुनौती पनि छ । गत निर्वाचनमा कांग्रेसको सहारामा चुनाव जितेका बाबुरामलाई आसन्न चुनावमा कसले सघाउँला ? बाबुराम कुन दलसँग गठबन्धन गर्लान् ? भविष्यको राजनीतिक दृश्यले प्रस्ट पार्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement