एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न मेयर बालेनको निर्देशन


काठमाण्डु- काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

काठमाण्डुका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागु गरिएको छ । हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भए पनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहर उठ्ने सुरसार नै नभएपछि प्रमुख बालेनले निजीलाई आगामी एक हप्ताभित्र फोहोर बञ्चरेडाँडा लैजानका लागि निर्देशन दिएका हुन् ।

उपत्यकामा क्षेत्र छुट्याएर महानगर र निजी क्षेत्रले फोहोर उठाउँदै आएको छ । फोहोर उठाउन नागरिकबाट पैसासमेत असुल गर्ने गरिएको छ । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहोर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहोर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको दिएको छ ।

कामपा एक्लैले व्यवस्थापन गर्दै आएका स्थानमा गत मङ्गलबारदेखि नियमितरुपमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालेसँगै कलङ्की, कालीमाटी, बल्खु, टेकुलगायतका स्थानको फोहोरको अन्तिम व्यवस्थापनको काम सकिएको छ भने सडक सफा भएका छन् । फोहोर व्यवस्थापनकै कारण दुई महिनादेखि बन्द रहेको कालीमाटी तरकारी बजारको मुख्य प्रवेशद्वार सञ्चालमा आएको छ । लामो समयदेखि काठमाडौंका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसक्दा सडक, चोकमा थुपारिएको फोहरको डङ्गुरले दैनिकीमा नै समस्या भएको थियो । कालीमाटी तरकारी बजार प्रवेश गर्ने स्थानमा फोहरका कारण आवतजावत बन्द थियो ।

दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।

साविक बमोजिम फोहोर व्यवस्थापनका लागि स्थानीयले अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी एक सातामा यसअघि थुप्रिएको सबै फोहोर अन्तिम व्यवस्थापन स्थलसम्म लगिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement