आजबाट लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण


काठमाण्डु – बीमा ऐन २०७९ आजबाट लागू भएसँगै नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा काम कारबाही सुरु गरेको छ । ऐनमा भएको व्यवस्थाअनुसार साविकको बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको हो ।

आज एक कार्यक्रमकाबीच अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको अधिकारसम्पन्न निकायका रुपमा प्राधिकरणले औपचारिक रुपमा काम सुरु गरेको बताए ।

ऐनमा भएका व्यवस्था विस्तारै कार्यान्वयनमा लैजानुपर्ने दायित्व प्राधिकरणको रहेको पनि उनको भनाइ छ । “ऐनमा भएका प्रावधान क्रमशः लागू गर्दै र काम गर्दै जाँदा थप व्याख्या गर्दै जानुपर्छ । प्राधिकरणलाई सशक्तिकरण गर्ने र प्रविधिमैत्री बनाउनमा हामी केन्द्रित हुन्छाैँ,” अध्यक्ष सिलवालले भने ।

नयाँ ऐन कार्यान्वयनमा आएसँगै बीमासम्बन्धी नियामक निकायका रुपमा प्राधिकरण थप सशक्त भएर अघि बढ्ने पनि उनको भनाइ छ । नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकारका रुपमा काम गर्ने व्यवस्था नयाँ बीमा ऐनमा राखिएको छ ।

बीमा कम्पनीको स्थापनाका लागि पूर्वस्वीकृति दिने, इजाजतपत्र दिने तथा खारेज गर्ने,बीमा व्यवसायका लागि आवस्यक कानुनी व्यवस्था गर्ने, बीमा मध्यस्थकर्तालाई इजाजत दिने तथा उनीहरुको इजाजत नवीकरण एवम् खारेजीलगायतका अधिकार प्राधिकरणलाई दिइएको छ ।

त्यस्तै, प्राधिकरणसँग सम्बन्धित पुँजी तथा पुँजीकोष निर्धारण गर्ने, बीमा व्यवसायको जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा आवश्यक काम गर्ने, बीमाको पहुँच बढाउन लघुबीमा प्रवद्र्धन गर्नेलगायतका काम पनि प्राधिकरणले गर्नेछ ।

ऐनमा भएको व्यवस्थाअनुसार आर्थिकरुपले विपन्न वर्गका नागरिकसम्म बीमाको पहुँच पुर्‍याइ यसका माध्यमबाट नागरिकको हित संरक्षणका लागि प्राधिकरणमा एक बीमा कोष रहनेछ । उक्त कोषमा नेपाल सरकारबाट प्राप्त रकम, प्राधिकरणलाई बीमकबाट प्राप्त हुने लघुबीमा नियमन शूल्कको ५० प्रतिशत बराबर हुन आउने रकम, बीमकबाट प्राप्त हुने नियमन शूल्कको ३३ प्रतिशत र अरु स्रोतबाट प्राप्त हुने रकमसमेत राख्न सकिनेछ ।

त्यस्तै प्राधिकरण अन्तर्गत नै रहने गरी एक बीमित हित संरक्षण कोष रहने व्यवस्था पनि ऐनले गरेको छ । बीमक गाभ्न वा गाभिन सक्ने, बीमा व्यवसाय हस्तान्तरण गर्न सक्ने, कानून विपरीत काम गरेमा त्यस्तो बीमकको इजाजत निलम्बन गर्ने तथा व्यवसायमा रोक लगाउनेलगायतका अधिकार ऐनले प्राधिकरणलाई दिइएको छ ।

त्यस्तै, प्राधिकरणले बीमा क्षेत्रका सूचना सङ्कलन गरी व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने, बीमा व्यवसायमा हुने जालसाजी, कीर्ते, ठगी जस्ता आपराधिक क्रियाकलापको अनुसन्धानका गर्ने कामसमेत गर्नेछ । ऐनमा भएको व्यवस्थाअनुसार अब बीमक कम्पनीले एउटा बीमा कोष स्थापना गर्नुपर्नेछ । साथै बीमकले बीमा व्यवसायसम्बन्धी दायित्व बहन गर्न एक छुट्टै अनिवार्य जगेडा कोषसमेत खडा गर्नुपर्ने व्यवस्था ऐनमा राखिएको छ ।

बीमकको कूल सम्पत्ति कूल दायित्वभन्दा बढी हुनुपर्ने र कूल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि छुट्याउनुपर्ने व्यवस्था पनि ऐनमा छ ।

साथै अब प्रत्येक बीमक कम्पनीले न्यून आय भएका वर्ग तथा पिछडिएको क्षेत्रका लागि लक्षित गरी लघुबीमा गर्नुपर्नेछ । यद्यपि, लघुबीमा मात्रै गर्ने प्रयोजनका लागि पनि कम्पनी खोल्न सकिनेछ । लघुबीको नियमनकारी सेवा पाउन प्रत्येक बीमक कम्पनीले आर्जन गरेको कुल बीमा शूल्कको शून्य दशमलव पाँच प्रतिशतका दरले प्राधिकरणलाई बुझाउनुपर्नेछ ।- रासस

प्रतिक्रिया दिनुहोस
Advertisement