भरतपुर महानगरपालिका जहाँ हारजितका यी हुनेछन् मुख्य ‘फ्याक्टर’


काठमाण्डु – भरतपुर महानगरपालिका गत स्थानीय चुनावमा जति चर्चामा थियो त्यति अन्य कुनै पालिका थिएनन् । मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछिको घटनाले देशैभरि बहस र चर्चा छेड्यो । एउटा वडामा भएको पुनः मतदानले माओवादीलाई फलिफाप भयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल मेयर बनिन् । उनलाई कांग्रेसले समर्थन गरेको थियो । भरतपुरमा आगामी चुनावमा गठबन्धनको अझै टुंगो लागेको छैन । यसपटक कांग्रेसले मेयर नछाड्ने अडान लिएको छ । रेनुले पनि पाँच वर्षमा राम्रो काम गरेको भन्दै फेरि उम्मेदवारीका लागि प्रयास गरिरहेकी छिन् । प्रचण्डको निर्वाचन क्षेत्र पनि रहेकाले चितवनको चासो र चर्चा देशैभर हुने गरेको छ ।

गत चुनावलाई फर्केर हेर्दा

भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी मिलेर लडेका थिए । मेयरमा माओवादीकी रेनु र एमालेका देवी ज्ञवालीबीच कडा प्रतिस्पर्धा भयो । मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा ज्ञवाली झिनो मतले अघि थिए । १९ नम्बर वडाको मतगणना जारी थियो । २० नम्बर वडाको मात्रै मतगणना बाँकी थियो । त्यही बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि चर्को विवाद भयो । निर्वाचन आयोग हुँदै मुद्दा अदालतमा पुग्यो ।

अदालतले १९ नम्बर वडामा पुनः मतदान गर्न आदेश दियो । पुनः मतदानपछिको मतगणनामा रेनु ४३ हजार एक सय २७ मत पाएर मेयर बनिन् । ज्ञवालीले ४२ हजार नौ सय २४ मत पाए । अर्थात् मतान्तर जम्मा दुई सय तीनको भयो । राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार आठ सय ४२ मत ल्याए । उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरी ४७ हजार एक सय ९७ मतसहित विजयी भइन् । एमालेकी दिव्या शर्माले ३९ हजार पाँच सय २५ मत पाइन् । राप्रपाकी रिना गुरुङले सात हजार दुई सय ५२ मतसहित तेस्रो स्थान हासिल गरिन् । २९ वडा मध्ये एमालेले १४ र कांग्रेसले १२ अध्यक्ष जिते । माओवादी केन्द्रले तीनवटामा चित्त बुझायो ।

सम्भावित समीकरण

यसपटकको निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेलको सम्भावना बढी छ । तर, मेयरलाई लिएर विवाद छ । कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनकै पक्षमा देखिएकाले प्रचण्ड ढुक्क देखिन्छन् । एमाले पनि तालमेल गरेरै भए पनि मेयर जित्ने योजनामा छ । त्यसका लागि उसले विगतमा राम्रो भोट ल्याएको राप्रपासँग तालमेलका लागि प्रयास गरिरहेको छ । एकातिर एमाले–राप्रपा र अर्कोतिर कांग्रेस–माओवादी र एकीकृत समाजवादीको गठबन्धन बने भरतपुरको चुनाव रोचक हुने निश्चित छ ।

हारजितमा प्रभाव पार्ने तत्वहरू

भरतपुर महानगरमा पनि हारजितको मुख्य फ्याक्टर दलहरूको समीकरण नै हो । दलहरूबीच हुने गठबन्धनले नै यहाँको परिणाम निर्धारण गर्न सक्छ । प्रचण्ड रेनुलाई पुनः मेयर बनाउने कसरतमा देखिन्छन् । त्यसका लागि उनले देउवालाई फकाउने प्रयास गरिरहेका छन् । तर, कांग्रेसका स्थानीय नेता भने यसपटक कुनै हालतमा पनि मेयर नछाड्ने अडानमा देखिन्छन् । भरतपुरमा अर्को मुख्य कुरा दल विभाजनको असर पनि हो । यसले एमालेलाई बढी प्रभाव पर्ने देखिन्छ । किनकि यहाँ विभाजनको असर अन्यत्रभन्दा अलि बढी छ ।

एमालेबाट जितेका १४ वडाध्यक्षमध्ये पाँचजना एकीकृत समाजवादीमा लागेका छन् । एमालेको सम्भावित सहयोगी दल राप्रपामा पनि विभाजन आएको छ । कांग्रेसमा पनि असन्तुष्टि चर्को छ । सधैँभरि अर्को दललाई भोट हाल्नुपरेकोमा कांग्रेस कार्यकर्ता आक्रोशित छन् । कुन दलबाट कस्ता उम्मेदवार बन्छन् भन्नेले पनि परिणाम प्रभावित हुन सक्छ । दलगत रूपमा महानगरमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । साथै, पछिल्लोपटक थपिएका मतदाता पनि चुनावमा निर्णायक हुन सक्छन् ।

कांग्रेसको गढमा माओवादीको रजाइँ

भरतपुर क्षेत्र परम्परागत रूपमा कांग्रेसको गढका रूपमा चिनिन्छ । स्थानीय निर्वाचनमा नगर पञ्चायतदेखि नै यहाँ कांग्रेसले जित्दै आएको छ । प्रजातन्त्र स्थापनापछि ०४९ र ०५४ सालको चुनावमा पनि भरतपुरमा कांग्रेसले जितेको थियो । तर, पछिल्लोपटक यहाँ माओवादीको हालिमुहाली बढेको देखिन्छ । उसले स्थानीय सत्ताको बलमा संगठन पनि विस्तार गरेको छ । यसबाट कांग्रेसका स्थानीय नेता–कार्यकर्ता चिन्तित देखिन्छन् ।

सम्भावित उम्मेदवार

कांग्रेसबाट भरतपुरको मेयर पदमा आठजना नेताको चर्चा छ । यद्यपि, अधिकांश खुलेर आएका छैनन् । नेताहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, सूर्यकान्त घिमिरे, शंकर कँडेल, पार्वती शाह ठकुरी र चित्रसेन अधिकारीले टिकटको आशा राखेका छन् ।

एमालेमा पनि दाबेदारको संख्या कम छैन । अघिल्लो चुनावमा मेयरको उम्मेदवार बनेका देवी ज्ञवालीदेखि केन्द्रीय सदस्य पार्वती रावलसम्मले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । यसबाहेक नेताहरू विजय सुवेदी, कृष्णभक्त पोखरेल, कृष्णप्रसाद भुर्तेल, तेजेन्द्र खड्का, रामप्रसाद न्यौपानेलगायतको नाम पनि चर्चामा छ । माओवादीबाट रेनु दाहालबाहेक अन्यले मुख खोलेका छैनन् ।

३५ हजारभन्दा बढी मतदाता थपिए

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार सात सय ५२ मतदाता छन् । यसअघिको निर्वाचनमा एक लाख ५० हजार दुई सय ७४ मतदाता थिए । यसपटक झन्डै साढे ३५ हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement